देवी प्रसाद गौतम
लन्डन । बेलायतको नेपाली समुदायका एक सक्रिय अभियन्ता एनआरएनए यूके पूर्व उपाध्यक्ष (२०१५- २०१७ कार्यकाल) राष्ट्र राईको असमायिक निधन भएको छ ।
सगरमाथा तेक्वान्दो दोजाङका संस्थापक तथा तेक्वान्दो प्रशिक्षक ५८ वर्षीय राईको विहीबार हृदयाघातका कारण निधन भएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।
आर्मीमै फिजिकल इन्सट्रक्टर उनी तेक्वान्दो सिक्स्थ डान मास्टर हुन् । आफूलाई सधैं तन्दुरुस्त राख्न चाहने राई बिहीबार आर्मी जिम हल ब्रामटनमा ब्याटमिन्टन खेलेर फर्किएका थिए ।
घर आएपछि उनले जाडो भएको महसुस गरेपछि हतार हतार एम्बुलेन्स बोलाएर अस्पताल लैजांदा बाटोमै निधन भएको गाहामगरले जनाए ।
एनआरएनए यूके स्पोर्टस कोअर्डिनेसन काउन्सिलका संयोजक पनि हुन् उनी । उनलाई एनआरएनए यूकेमा खरो बोल्ने व्यक्तिका रुपमा लिइन्थ्यो । उनी चित्र कोर्न पनि निपुण थिए ।
पूर्व बेलायती गोर्खा सैनिक राई परिवारसहित बेलायतको मेडस्टोन बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
उनको निधनमा बेलायतको नेपाली समुदाय स्तब्ध छ ।