भौगोलिक विविधतापूर्ण देश नेपालको हिमाल, पहाड र तराईका विभिन्न स्थान र समयमा विभिन्न प्राकृतिक प्रकोपहरूले ठूलो जनधनको क्षति भएको देखिन्छ । वर्षात्को समयसँगै आउने पहिरो र बाढी जस्ता प्राकृतिक प्रकोपले मुलुकको विभिन्न क्षेत्रमा वर्षेनि ठूलो जनधनको क्षति पुर्याउने गरेको छ । क्षतिको तथ्याङ्क हेर्दा बाढीबाट ज्यान गुमाउनेको संख्या प्रति वर्ष १०० बाट ओरालो लागे पनि भौतिक क्षतिमा कमि आएको देखिंदैन ।
जल तथा मौसम विज्ञान विभागले अघिल्लो आर्थिक वर्षमा १ करोड ३० लाख मानिसलाई पूर्व सूचना प्रणालीबाट एसएमएस अलर्ट पठाएको थियो । हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनले निम्त्याएको छोटो समयमा हुने भीषण वर्षात्को कारणले हुने भू-क्षय, भू-स्खलन, बाढी तथा सुख्खा पहिरो आदिले पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याइरहेको छ ।
विगतका वर्षहरूमा भएका मनाङको आकस्मिक बाढी र स-साना वर्षामा आएको मेलम्चीको आकस्मिक बाढी यसका ज्वलन्त उदाहरण हुन् । करिब ४८ घण्टाको लगातार वर्षाको कारणले साउन २८ गते मुस्ताङ जिल्लाको कागबेनी स्थानको कागखोलामा आएको आकस्मिक बाढीले २९ पक्की भवन, ३ काठे पुल र निर्माण सम्पन्न हुन लागेको एक मोटरेबल पुल बगाएको समाचार हामी सबैले पढ्यौं, हेर्यौं ।
अत्यन्त दुःखलाग्दो यस्तो प्राकृतिक विपत्ति हुनुपूर्व नै सूचना दिन सकिएकोले मानवीय हताहती भने भएन । यद्यपि निर्माण सम्पन्न हुन लागेको मोटरेबल पुल बाढीमा बग्नाले तल्लो र उपल्लो मुस्ताङको भौगोलिक निकटता टुटेको छ ।
हिमाली क्षेत्रमा यस्तो ठूलो प्राकृतिक विपत्ति किन निम्तिन्छ ? यस्तो प्राकृतिक विपत्तिबाट कसरी जोगिन सकिन्छ ? यही विषयमा केन्द्रित रहेर यो आलेख तयार गरिएको हो ।
मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरबाट सुरु भई पूर्वबाट पश्चिमहुँदै बग्ने मुक्तिनाथ खोला र उत्तरबाट पश्चिम बग्ने झोङ्ग खोला एकआपसमा मिसिएपछि कागखोला सुरु हुन्छ । यो पूर्वबाट पश्चिमतर्फ बगेको छ ।
उत्तरबाट दक्षिणतर्फ बगेको कालीगण्डकी नदी हिन्दुहरूको पवित्र तीर्थस्थल कागबेनीमा मिसिन्छ । कागबेनी संगमस्थलभन्दा माथिल्लो तटीय क्षेत्रमा बाढीले छोडेको मैदान (फ्लडप्लेन) को कागखोला पारिको क्षेत्रमा करिब ०.०७ वर्ग किमी भू-भाग र वारितर्फको करिब ०.३३ वर्ग किमी भू-भागभित्र हालको कागबेनीको बस्ती र खेतीयोग्य क्षेत्र रहेको छ ।
कालीगण्डकी र कागखोलाको किनारामा अवस्थित कागबेनी बजारमा कुनै पनि समय बाढीको प्रकोपमा पर्न सक्ने जोखिम देखिन्छ । मानव बस्तीको बढ्दो विकास सँगसँगै समानान्तर भौतिक पूर्वाधार विकास र मानवीय सुविधाको लागि सडक संजाल निर्माण भएका छन् ।
कालीगण्डकी र कागखोलाको किनारामा अवस्थित कागबेनी बजारमा विगत २१ वर्ष अघिसम्म मानव बस्ती तुलनात्मक रूपमा कम रहेको देख्न सकिन्छ (चित्र नं. १ क) ।
गुगल अर्थमा उपलब्ध भएका ऐतिहासिक तस्वीरहरूको संग्रह क्रमशः अध्ययन गर्दा विगतका स्थानीय पदमार्गहरू मोटर गुड्ने फराकिला सडकहरूमा रूपान्तरण भएको र खोलाहरूमा स-साना पुलपुलेसा, झोलुङ्गे पुल र मोटरेबल पुलको निर्माण सँगसँगै अन्य भौतिक संरचनाहरूको निर्माण बढेको स्पष्ट देख्न सकिन्छ ।
हिमाल र पहाडका हिउँ पर्ने टाकुराबाट उत्पन्न भई पहाडका फेदीमा साँघुरा खोंचहरू बनाई (भी-शेप्ड) बहेका उच्च भू-झुकाव (ग्रेडियन्ट) भएका खोला र नदीहरूमा पानीको धार बढी हुनाले खोलाको कटान क्षमता धेरै हुन्छ । यस्ता खोलाले नदीजन्य पदार्थ (ढुंगा, माटो, गिटी, बालुवा) बोक्ने क्षमता (सेडिमेन्ट ट्रान्सपोर्ट क्यापासिटी) उच्च रहेको हुन्छ ।
खोलामा आउने पानीको विशिष्ट शक्ति खोला पिंधमा सिर्जित तनाव (बेड शियर स्ट्रेस) र बहावको गति (फ्लो भेलोसिटी) का आधारमा खोलाको नदीजन्य पदार्थ बोक्ने तथा लैजाने क्षमता निर्भर रहन्छ ।
उपरोक्त तीन गणितीय आयामहरू खोलामा आउने पानीको परिमाण, पानी बग्ने निकासमा पानीले समेट्ने परिमिति (वेटेड पेरिमिटर), त्यसको क्षेत्रफल (क्रस सेक्सनल एरिया) र खोला पिंधको भू-झुकाव (ग्रेडियन्ट) मा भर पर्दछन् ।
खोलाको बहाव उच्चबाट क्रमशः कम भू-झुकावमा आउँदा र फिजारिएको ठाउँहरूबाट बहँदा खोलाको बहावबाट आउने उपरोक्त तीन आयामहरू घट्न जान्छन् । परिणामस्वरूप खोलाको बहावसँगै आएका ढुंगा, माटो, गिटी, बालुवा बहन गर्ने क्षमतामा ह्रास आउँछ । बहावसँगै आएका नदीजन्य पदार्थहरूको खोला किनारामा विसर्जन हुन गई बाढीले छोडेको मैदान (फ्लडप्लेन) मा परिणत हुन्छन् ।
यसरी बनेको घाँसे मैदानहरूमा हिउँदको महिनामा झारपातहरू उम्रने र वर्षाको सुरुवात सँगसँगै बगरमा परिणत हुने विशेष गुण त्यस्ता घाँसे मैदानहरूमा रहेको हुन्छ ।
लामो समयसम्म कम वर्षा र बाढी भएको अवस्थामा त्यस्ता घाँसे मैदानहरूमा एकवर्षीय जीवनचक्र प्रणाली भएका घाँसहरू कुहिन गई र खोलासँगै बहेर आएको मसिनो थेग्रिन (फाइन सेडिमेन्ट) जम्मा हुन गई माटोलाई उर्वर बनाएको कारणले खेतीयोग्य जमिनको नजिक मानव सभ्यताको विकास भएको पाइन्छ ।
खोलामा आएका स-साना बाढीसँगै बहेर आएका रूखका बीउबिजनहरू, हावा वा चराचुरुङ्गीको माध्यमबाट त्यस्ता उर्वर घाँसे मैदानमा बीजारोपण हुन्छ र विस्तारै जंगलमा परिणत भएको हिमालबाट तराई झरेका धेरै नदीहरूमा देख्न सकिन्छ ।
खोलाको बाढीले छोडेको मैदान उर्वर हुने भएकोले जीवनयापनको लागि मानव अतिक्रमण सुरु हुन्छ । यसरी बसेको बस्ती विस्तार हुनु अहिलेको क्षतिको प्रमुख कारण हो । यही बाढीले छाडेको मैदान, उर्वर कृषियोग्य जमिनमा हाल कागबेनी बजारको बस्ती विकास भएको देखिन्छ (चित्र नं. १ दोस्रो) ।
खोलाहरूको संगमस्थल भन्दा माथि कागखोला पारिको घाँसे मैदान त्रिभुज आकारमा जोडिएको छ । वारितिरको घाँसे मैदानको करिब १.७ किमीमा घुमाउरो आकारमा दुवै खोलाको किनारामा हालको कागबेनी बजारको बस्ती विकास भएको देखिन्छ । गुगल अर्थमा उपलब्ध भएका ऐतिहासिक तस्वीरहरूबाट कागखोलाको समानान्तर खेतीयोग्य जमिनलाई दुई तहमा विभाजन गरेको लामो रेखा (चित्र नं. १ (पहिलो) मा देखाइएको रातो रेखा) मा स्पष्टसँग देख्न सकिन्छ ।
उक्त रातो लामो रेखाको दिशा हुँदै विगतमा निकै ठूलो बाढी सो घाँसे मैदानमा पसेको सजिलै अनुमान गर्न सकिन्छ । दुई खोलाको संगमस्थल, त्रिभुज र घुमाउरो आकारमा अवस्थित उक्त बस्तीको भू–भाग बाढी प्रकोपको अत्यन्त जोखिमस्थल हो भनेर सजिलै यकिन पनि गर्न सकिन्छ । (चित्र नं. १ दोस्रो)
समुद्री सतहबाट २८०४ मिटर उचाइमा अवस्थित कागबेनी बजार क्षेत्र र यस वरपर सरदर वार्षिक २७० मीमी वर्षा हुने र ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने तथ्याङ्क एक अनुसन्धानपछि प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कागखोलाको जलाधारमा भएको होचो तल्लो तटीय क्षेत्र कागबेनीको २८३१ मिटर उचाइमा रहेको र उपल्लो तटीय क्षेत्रको उचाइ करिब ३५३४ मिटर रहेको छ (चित्र नं. १ (दोस्रो) ।
यो तथ्याङ्कले कागखोलाको तल्लो खण्डको भू-झुकाव करिब ८ प्रतिशत हुन आउँछ भने मुक्तिनाथ मन्दिरबाट बहँदै आएको मुक्तिनाथ खोलाको माथिल्लो खण्डको भू-झुकाव करिब १५ प्रतिशत हुन आउँछ ।
उत्तर पूर्वबाट पश्चिम बहेको झोङ्ग खोला र मुक्तिनाथ खोलाको संगम भएपछि कागखोलाको रूपमा बगेको छ । झोङ्ग खोलाको भू-झुकाव भने करिब १३ प्रतिशत हुन आउँछ । यी दुई खोलाको भू-धरातलको झुकाव करिब दुई गुणा फरक देखिन्छ ।
कालीगण्डकी नदी र यसका सहायक खोलाहरूको जलाधार क्षेत्रमा सुख्खा पहिरोको अत्यन्त जोखिम र भौगोलिक हिसाबले अत्यन्त कमजोर रहेको विगतमा भएका अनुसन्धानहरूले देखाउँछ । खोलाको बहावको छोटो सतह दूरी बीचको ठूलो भौगोलिक उचाइ अन्तर र भौगोलिक उचाइ अन्तर बीचको विविध जलवायु आदि कारण र नेपालको भौगर्भिक विभाजन अनुसार तिब्बतियन प्लेटमा अवस्थित उक्त क्षेत्रको सतहको माटो एकआपसमा बन्धन (बन्डिङ) नभई अति खुकुलो रहेको हुन्छ । त्यस्तो माटोलाई सजिलै वातावरणीय अवस्थाले परिवर्तन गर्ने कारणले समेत हिमालयको क्षेत्र पानी पर्ने समयमा पहिरोको उच्च जोखिममा रहेको देखिन्छ ।
सन् २०२० मा किर्शबाउमले गरेको अध्ययनका अनुसार जलवायु परिवर्तनले नेपालको हिमालय र तिब्बेतियन प्ल्यूटोमा घना वर्षाको कारणले हाल भइरहेको भन्दा ३० देखि ७० प्रतिशत भन्दा बढी पहिरो जान सक्ने सम्भावना देखाएको छ ।
विशेषगरी कागबेनीको उत्तरी भू-भाग चिसो भइरहन्छ भने उत्तरी हिमालय श्रृंखलाहरू परिवर्तित पत्रेदार नरम चट्टान (मेटा-सेडिमेन्टरी सेरिज) ले बनेको हुन्छ । त्यसैले कालीगण्डकी जलाधार क्षेत्रको तल्लो पिंधको भागमा भू–क्षय भइरहँदा कालीगण्डकी नदीमा वर्षेनि लेदो माटो बगेर गइरहेको देख्न सकिन्छ ।
भौगोलिक रूपमा माथिल्लो कालीगण्डकी जलाधार क्षेत्र साह्रै नै कमलो प्रकारको माटोले बनेको छ । त्यसैले स-साना जलवायुमा आउने परिवर्तन (जस्तैः थौरै वर्षा, तापक्रममा थोरै परिवर्तन) ले उक्त क्षेत्रमा ठूलो भौगोलिक परिवर्तन देखा पर्दछ ।
माथिल्लो मुस्ताङ क्षेत्रको २३ वर्षको तथ्याङ्कलाई लिएर गरिएको अनुसन्धानबाट वार्षिक औसत तापक्रम ०.१३ प्रतिशतले वृद्घि भएको देखिएको छ । यही अनुपातमा बढ्दा मात्र पनि आगामी सय वर्षमा उक्त क्षेत्रको तापक्रम वृद्धि दोब्बर हुने अनुमान गरिएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनले घाँसे मैदान र वनजंगलमा विभिन्न परिवर्तन देखिएका छन् । उच्च पहाडमा हिउँ पर्न कम भई रूखहरू उम्रन पुगेको अनुसन्धानबाट देखिन्छ । हिमाली क्षेत्रमा जटिल प्रकारको भू-स्खलनका शृङ्खलाहरू जलवायु परिवर्तनका असरको रूपमा देखिएका छन् ।
झोङ्ग खोला जलाधार क्षेत्र करिब ९२.५ वर्ग किलोमिटर फैलिएको र औसत झुकाव २७ डिग्री रहेको छ । यो क्षेत्र समुद्री सतहबाट करिब २८०० देखि ६५०० मिटर उचाइमा रहेको अत्यधिक विविधतायुक्त क्षेत्र मानिन्छ (चित्र २ क) ।
यस क्षेत्रभित्र ठूला र जटिल प्रकारका चलायमान अवस्थामा रहेका उत्तरबाट दक्षिणतिर बग्दै गरेका पहिरोहरू भएको अनुसन्धानमूलक आलेखहरूमा पढ्न पाइन्छ । सन् २०२१ मा रेइनरले गरेको अध्ययनले पनि यो क्षेत्रभित्र चलायमान ५ वटा ठूला पहिरोहरूलाई पहिचान गरेको छ (चित्र २ ख) ।
यीमध्ये केही पहिराले ठूलो भू–धरातलको पिण्डलाई घुमाउरो तरिकाले पहाडको फेदीमा पुर्याएको तथ्थ उजागर गरेको छ । त्यस्तै सन् १९९५ मा फर्टले गरेको अध्ययनमा पनि किन्नगर/झारकोटको पहिरो बारे उल्लेख गरेको पाइन्छ ।
रेइनरको अध्ययनले सन् २०१८ मा मात्र करिब १७ हजार घनमिटर गेग्रान (सेडिमेन्ट) झोङ्ग खोलाले भू-क्षय गरी उक्त क्षेत्रबाट निस्किएको तथ्य देखाउँछ । सो अध्ययनले सन् २०१८ को इन्डियन ग्रीष्म ऋतुको वर्षा (इन्डियन समर मनसुन)ले यो क्षेत्रको ३७.५ मिटर भू-धरातल सरेको (ल्याण्डस्लाइड डिस्प्लेसमेन्ट) देखाएको छ ।
२७ साउन २०८० देखि परेको अविरल वर्षाले नदीको दायाँ-बायाँ डाँडाका भू–भागहरू पानीले संतृप्त क्षेत्रमा परिणत भएकोले कागखोलाको पहिरो र कागबेनीका बाढीको प्रारम्भिक कारण भन्न सकिन्छ ।
स-साना पहिरो र विगतमा थुपारेको नदीजन्य सामग्रीहरू (बाउल्डर एण्ड सेडिमेन्ट) थोरै वर्षा भएको समयमा समेत भूक्षय हुन पुगी कागखोलामा बग्न गएको देखिन्छ ।
कागखोलाको भू-धरातलमा पहिरो गई खोला थुनिएर आकस्मिक पहिरो फुटेपछिको पानी, ढुंगा, माटो सहितको लेदोको बहावले ठूलो क्षति भएको अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार कागबेनीमा उक्त दिनको (साउन २८ गते) २४ घण्टाको वर्षा करिब २५.८ मी.मी. देखिन्छ, जुन पछिल्लो बाढीको प्रमुख र एकल कारण मात्र होइन ।
भू-उपग्रहबाट उपलब्ध वर्षाको तथ्याङ्कलाई अध्ययन गर्दा पनि साउन २७ र २८ गते २४ घण्टामा २० देखि २५ मिमि अविरल वर्षा भएको देखिन्छ । प्रेषित समाचारका अनुसार खोलामा पानीको सतह केही समय घटेको र केही समय बढेकोले थुनिएको पहिरो एकैचोटि नफुटेको देखिन्छ ।
बाढीसँगै बहँदै आएका रूखका मुढा र पहिरोबाट उत्पन्न गेग्रान सहितको लेदोले पनि खोलाको बहावलाई रोकेको र पहिरोको बाँध एक्कासी फुट्न गई विस्फोट भएर अकस्मात् बाढी (फ्लास फ्लड) आएको तथ्यलाई पुष्टि गर्दछ ।
समाचारहरू अनुसार करिब साँझ ७:०० बजे खोला थुनिएको खबर सम्पे्रषण भयो । जल तथा मौसम विज्ञान विभागको साउन २८ (अगष्ट १३) मा कागबेनीबाट करिब ८ कि.मि. तल्लो तट जोमसोममा अवस्थित कालीगण्डकी नदीको जल सतह मापनस्थलको तथ्याङ्क अनुसार पहिलो पल्ट बेलुकी ८:१० बजेदेखि ९:०० सम्म कालीगण्डकी नदीको जलसतह २.४४ मिटरबाट १.६४ मिटरसम्म घटेको देखिन्छ ।
त्यस्तै बेलुकी ९:०० बजेदेखि ९:३० सम्म जल सतह बढेर २.१२ मिटर पुगेको देखिन्छ । दोस्रोपल्ट ९:३० बजेदेखि ९:५० बजेसम्म नदीको जल सतह घटेको देखिन्छ भने ९:५० बजेदेखि ११:१० बजेसम्म जल सतह बढेर अधिकतम २.७७ मिटर पुगेको देखिन्छ (चित्र नं. ३) ।
८ कि.मि. तलको तल्लो तटीय क्षेत्रमा भएको जलमापन स्थलको रेकर्डको समय र स्थानीयबाट आकस्मिक बाढी आएको समयको फरक १ घण्टा देखिन्छ । सो समय तालिकाबाट १ घण्टा घटाएर हेर्दा पहिलोपल्ट झोङ्ग खोला बेलुकी ७:०० बजेदेखि ८:०० बजेसम्म र दोस्रोपल्ट ८:३० देखि ८:५० सम्म थुनिएको देखिन्छ ।
करिब २४ घण्टापछि पनि कागखोलामा बगिरहेको लेदो माटोले गर्दा त्यसको उपल्लो तटीय क्षेत्रमा कमलो माटोको उच्च भू-झुकावको कारणले कटान भई थुप्रिएको थेग्रिन बगाउन गई आकस्मिक बाढी आएको संकेत गर्दछ ।
गेग्रान, लेदो माटो र विद्युत्का पोलहरू लडेर ढुंगा, माटो, गिटी सहित आएको आकस्मिक बाढीले उपल्लो मुस्ताङ जाने सडक पुल मुनिको पानी बग्ने भाग र फ्री बोर्डको भाग थुनिन गई पुल भत्किएको अनुमान गरिएको छ (सशस्त्र प्रहरीका निरीक्षक विष्णु पौडेलले दिएको सूचना अनुसार) ।
तुलनात्मक रूपमा सामान्य अवस्थाको वर्षाद्वारा सिर्जित (रेनफल ट्रिगर्ड) बाढीभन्दा ढुंगा, माटो, लेदो सहितको बाढी सयौं गुणा शक्तिशाली हुने आकस्मिक बाढी सम्बन्धमा प्रकाशित विभिन्न अनुसन्धानात्मक सामग्रीहरूमा पाइन्छन् । सो शक्तिशाली आकस्मिक बाढीले अधिकतम करिब १ मिटर ब्यास भएको ढुंगाहरू बगाएर ल्याएको फोटोमा देख्न सकिन्छ (चित्र नं. ४) ।
कागखोलामा आएको आकस्मिक बाढीले ल्याएको गेग्रान सहितको ढुंगाहरूको करिब १ मिटरको आकारलाई आधार मान्दा कागखोलामा करिब ७०० घनमिटर प्रति सेकेण्ड बाढी आएको अनुमान गर्न सकिन्छ ।
चित्र नं. ४: कागखोलाले बगाएर ल्याएको (क) गेग्रान सहितको ढुंगा (ख) लेदो माटो सहितको थेग्रिन ।
बाढी आउनुपूर्व चेतावनी दिने संयन्त्रमा पानीको सतह बढेको अवस्थामा र रातको समयमा पहिरो गई खोला थुनिई पानीको सतह घटेको अवस्थामा पनि घण्टी (साइरन) बज्ने प्रविधि जडान गर्न सकियो भने भविष्यमा आउने विपत्तिबाट जनधनको क्षति कम गर्न सकिन्छ ।
कागबेनीको आकस्मिक बाढीको वास्तविक सत्यतथ्य भविष्यमा हुने विस्तृत अध्ययनले उजागर गर्नेछ ।
भौतिक पूर्वाधार डिजाइनमा इन्जिनियरहरूलाई आवश्यक पर्ने ऐतिहासिक जलविज्ञान सम्बन्धी तथ्याङ्कहरूको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ ।
जलविज्ञान सम्बन्धी ऐतिहासिक तथ्याङ्कहरूको उपलब्ध नभएको कारण पूर्वाधार डिजाइनमा त्रुटि रहन्छ । ठूलो बाढी र बाढी पुनः आउन सक्ने समय (फ्लड रिटर्न पिरियड) प्रक्षेपणको लागि यी तथ्याङ्कहरू अत्यन्त आवश्यक हुन्छन् ।
पूर्वाधारको आकारप्रकार यिनै तथ्याङ्कहरूले प्रक्षेपण गर्ने गरिन्छ । अझै हामीसँग इतिहासमा आएका यस्ता आकस्मिक बाढीका पर्याप्त तथ्याङ्क नै छैनन् । भौतिक पूर्वाधार डिजाइनमा यस्ता हिमनदीबाट आउने आकस्मिक बाढी र बाढी सहित गेग्रान, लेदो माटोका तथ्याङ्क विश्लेषण गरी नदी/खोलाका किनारामा निर्माण गरिने भौतिक पूर्वाधारहरूको परिकल्पना गर्न सकेमा भौतिक पूर्वाधार विकासमा दिगोपन आई उल्लेख्य मात्रामा जनधनको क्षति कम गर्न सकिन्छ ।
कागखोलाको बाढीले इन्जिनियर समुदायहरूलाई नदी÷खोला किनारामा निर्माण गरिने सडक, सडक सुरक्षा पर्खाल, विद्युत् पोलहरूको स्थान छनोट, पुल पुलेसाको डिजाइनमा आकस्मिक बाढीका तथ्याङ्कहरू अनिवार्य समावेश गरी जोखिममुक्त पूर्वाधार डिजाइन गर्न पाठ सिकाएको छ ।
ऐतिहासिक तथ्याङ्कहरू उपलब्ध नभएमा उस्तै प्रकृतिका हिमनदीहरूको ऐतिहासिक तथ्याङ्कलाई आधार मानी पूर्वाधार डिजाइन गर्नुपर्छ ।
अध्ययन अनुसन्धान विना जथाभावी मानव बस्तीको विकास गर्नु, अत्यावश्यक तथ्यहरू विना महत्वाकांक्षी भौतिक पूर्वाधारको डिजाइन भई संरचनाहरूको निर्माण हुनु, खोलाको किनारामा बस्ती बसाउनु, कृषियोग्य जमिन मासेर घडेरीहरू बिक्री हुनु, अनियन्त्रित डोजर विकास प्रविधि, नदीजन्य सामग्रीको अत्यधिक दोहन र वनजङ्गल फडानी जस्ता कारणले नै मानवीय जीवन विगतदेखि नै प्राकृतिक विपत्तिमा परेको देखिन्छ ।
अध्ययन अनुसन्धान एक खर्चिलो प्रक्रिया हो । नेपालमा पूर्वाधार विकाससँग सम्बन्धित सरकारी कार्यालयहरूमा भू–गर्भ, माटो, नदी, गेग्रान, नदी वातावरण सम्बन्धी अध्ययन अनुसन्धानका जनशक्तिहरू उपलब्ध छैनन् । साथै उपलब्ध भए पनि पर्याप्त छैनन् ।
उपलब्ध जनशक्तिहरू पनि समयसँगै परिमार्जित प्रविधि, प्रणाली र उपकरणमा अभ्यस्त हुँदैनन् । तीन वटै सरकारहरूले आगामी दिनमा अध्ययन अनुसन्धानमा आवश्यक रकम विनियोजन गरी सम्बन्धित विश्वविद्यालयसँग अध्ययन अनुसन्धानमा हातेमालो कार्यक्रमको अवलम्बन गर्नुपर्छ ।
प्राकृतिक विपत्तिका हिसाबले जोखिमपूर्ण स्थानहरूको पहिचान गर्दै क्षति कम हुने कार्यक्रम संचालन गर्नु आजको आवश्यकता हो ।
विश्वविद्यालयका विद्यार्थीबाट प्रदेश सरकार र विश्वविद्यालयको सह-लगानीमा अध्ययन अनुसन्धानका कार्यक्रमहरू संचालन गर्न सके कम समयमा भू-गर्भ, माटो, नदी, गेग्रान, नदी वातावरण सम्बन्धी ठूलो परिमाणमा तथ्याङ्कहरू जम्मा गर्न सकिन्छ ।
यो भौतिक पूर्वाधार डिजाइन गर्न आगामी दिनहरूमा महत्वपूर्ण सम्पत्ति हुनेछ । अध्ययन अनुसन्धानबाट प्रेषित प्रतिवेदनहरूलाई शतप्रतिशत कार्यान्वयनमा लैजान सके मात्र प्राकृतिक विपत्तिबाट कम क्षति हुनसक्छ ।
सरकारी भौतिक विकासका बजेट र कार्यक्रमहरू लागत घटाउने नाममा प्राकृतिक जोखिम न्यूनीकरण र अनुकूलन हुन सकेनन् भने निर्मित आयोजनाहरू सधैंभरि जोखिमपूर्ण रहिरहनेछन् । वर्षा र बाढीको पूर्वानुमान झैं पर्याप्त अध्ययन अनुसन्धानबाट नदीमा खस्न सक्ने पहिरो, खोला थुनिने, आउन सक्ने बाढी र यसको प्रभावको आकलन गर्ने प्रणालीको विकास गर्नु आज अत्यावश्यक भइसकेको छ । यसमा सम्पूर्ण सरोकारवालाहरू सतर्क र एकजुट भएर सहकार्य गर्नुपर्ने देखिन्छ ।
सरकारी पूर्वसूचना प्रणालीलाई थप गुणस्तरीय र प्रभावकारी बनाउँदै ७ वटै प्रदेश र ७५३ वटै स्थानीय तहमा रहेका आपतकालीन केन्द्रहरूलाई तम्तयार अवस्थामा राख्न सके साथै दैवीप्रकोप उद्धारमा घटनास्थलमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र रेडक्रसलाई आवश्यक सरसामान सहित समयमा पुर्याउन सके भविष्यमा हुनसक्ने क्षतिलाई घटाउन सहयोग पुग्ने देखिन्छ ।
नेपालको उच्च हिमाली क्षेत्र भौगर्भिक बनावटका हिसाबले तुलनात्मक रूपमा अन्य क्षेत्र भन्दा कमजोर र छिटो नष्ट हुने क्षेत्रको रूपमा रहेको छ । कागबेनी सहित अन्य उच्च हिमाली क्षेत्रहरूमा गरिने पूर्वाधारको डिजाइन र निर्माणमा परम्परागत विधिले पूर्ण रूपमा काम नगरेको र जोखिम बढिरहेको छ ।
यस्तो अवस्थामा उत्पन्न हुनसक्ने सबै प्रकोपको पूर्वानुमान गरी प्रकृतिमैत्री संरचना अगाडि बढाउनुको विकल्प देखिंदैन ।
(डा. महेन्द्रबहादुर बानियाँ गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पूर्वाधार विकास कार्यालय कास्कीमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर हुन्, डा. अर्जुन बानियाँ युनाइटेड टेक्निकल कलेज, भरतपुर—११ मा कार्यरत रिसर्च डाइरेक्टर हुन् । डा. रकी ताल्चाभडेल हाल अमेरिकाको ज्याक्सन युनिभर्सिटी, सिभिल एण्ड इन्भारमेन्टल इन्जिनियरिङमा कार्यरत सहायक प्राध्यापक हुन् । इन्जिनियर लक्ष्मीप्रसाद भण्डारी गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर हुन् भने इन्जिनियर नवराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरामा कार्यरत सिनियर डिभिजनल इन्जिनियर हुन् ।)
समाचार साभार: स्रोत लिंक