प्रेम गाहा भन्छन , मलाई दूतावासमा प्रतिबन्ध गरियो
लन्डन । एनआरएनए गाहा पक्षले नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जातीय भेदभाव गरेको आरोप लगाएको छ । शुक्रबार बिज्ञप्तिमार्फत युके अध्यक्ष प्रेम गाहा मगरले सो आरोप लगाएका हुन् ।
नेपाल फर्कन लागेकी उपनियोग प्रमुख रोशन खनालले पूर्वाग्रही रुपमा आफुलाई दूतावासभित्र जान प्रतिवन्ध लगाएको भन्दै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उजुरी दिएको जनाएका छन् ।
गाहामगरले अल्डरसटमा धेरै भूतपूर्व गोर्खा बुढाबुढी भएकाले घुम्ती सेवामार्फत उनीहरुको राहदानी लगायत अन्य कागजात बनाइदिन पटक पटक आग्रह गर्दा खनालले जातीय भेदभाव गरि नआएको तर मिडल्यान्ड, स्कटल्यान्डमा भने गएर सेवा दिएको आरोप लगाए ।
बिहीबार गुल्मीका स्थानीय पदाधिकारीहरु र कार्मचारीहरुसंग तय गरिएको कार्यक्रममा दूतावासमा अध्यक्ष गाहामगरलाई प्रबेश नदिएको भन्दै उनले रोष प्रकट गरेका हुन् ।
गुल्मी रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थी, कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा तथा गुल्मी दरबार गाउँपालिका प्रमुख सरोजकुमार थापा र उपप्रमुख तारा थापा ढेंगा गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणमा बेलायत अवलोकन भ्रमणमा आएका हुन् ।
अध्यक्ष गाहामगरले प्रधानमन्त्री ओलीलाई लेखिएको भनिएको पत्रमा नेपालीलाई औपचारिक भेटघाट वा कार्यक्रममा जान रोक लगाउने खनालको रवैया निजामति कर्मचारीको आचारसंहिता र अनुशासनभित्र पर्छ भन्दै छानविन गर्न माग गरिएको छ ।