लण्डन ।
नेपाल पत्रकार महासंघ बेलायत शाखालाई विधान विपरित कुनै गतिविधि नगर्न निर्देश गरेको छ ।
नेपाल पत्रकार महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले विहिवार शाखामा पत्राचार गर्दै नेपाल पत्रकार महासंघ बेलायतको गत जुलाई महिनामा स्थगित अधिवेशन पछि गरिएका सबै गतिविधिहरु रोक्न निर्देशन दिएकी छिन् ।
पत्रमा नेपाल पत्रकार महासंघले मिति २०८१ जेठ २३ गते नेपाल पत्रकार महासंघ युकेसहित सबै वैदेशिक शाखाका अधिवेशन र नयाँ सदस्यता वितरण गर्ने कार्य स्थगित गर्न परिपत्र गरेको रेकर्ड केन्द्रीय समितिमा रहेको उल्लेख छ।
यसअघि महासंघको निर्देशन विपरित गत जुलाई १४मा बेलायत शाखाको अधिवेशन गरे पछि विवाद उत्पन्न भएको थियो ।
पत्रकार महासंघ केन्द्रीय समितिले अधिवेशन स्थगित गरे पछि पनि शाखामा नयाँ अधिवेशन भएको, शाखाका केही पूर्व पदाधिकारी तथा सदस्यहरुले संस्थामा समानान्तर गतिविधि गरेको, समाचार लेखेका आधारमा सदस्यहरुलाई स्पष्टिकरण सोध्ने लगायत विधान विपरितका कार्य गरेको भन्ने उजुरी महासंघमा परेको पत्रमा जनाईएको छ ।
शाखाका सदस्यता हटाउने अधिकार केन्द्रीय समितिमा मात्र रहेको स्मरण गराउँदै सदस्यता लगायतका विवाद हल गरी शाखासंग समन्वय गरेर स्थगित भएको अधिवेशनको नयाँ मिति छिट्टै तोकिने समेत पत्रमा उल्लेख गरेको छ ।
गत जुलाई महिनामा सम्पन्न हुनु पर्ने युके शाखाको छैटौं अधिवेशनमा केन्द्रीय समितिको पत्र मान्ने र नमान्ने विषयमा विवाद भए पछि एक भेलाले परियारको संयोजकत्वमा तयारी समितिको घोषणा गरेको थियो ।
परियारले शाखाको रुपमा रहेको बेलायत पत्रकार महासंघले केन्द्रको निर्देशन पालना गर्नु पर्ने अडान राख्दै आएका छन्।