आफनै अनुयायीमाथि बलात्कार गरेको आरोप खेपेका चतराधामका सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीबाट सफाई पाएका छन्।
न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बुधबार सो मुद्दाबाट गिरीलाई सफाइ दिएको हो । यस अघि पनि गिरीले ०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासबाट सफाई पाएका थिए।
जिल्ला अदालतको फैसलामाथि उच्च अदालत विराटनगरले सिद्ध बाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले बदर गरिदिएको थियो ।
उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गरेको हो ।
सो इजलासले पीडित र पीडक पक्षबीच भएको भ्वाइस कलको परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरु बुझेर पुन इन्साफ गर्न आदेश दिएको हो ।
बदर भएपछि पुन जिल्लामा फर्किएको सो मुद्दामा फेरी पनि गिरीलाई सफाई दिईएको हो। सुनसरी जिल्ला अदालतका तहसिलदार भरतमणि पोख्रेलले राय किताबमा अभियोग दाबी नपुगेको फैसला भएको बताए ।
२०७६ कात्तिक ४ गते राति सिद्ध बाबाले बलात्कार गरेको भन्दै पीडितले ०७६ मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि पक्राउ परेका गरीलाई ०७६ पुस १४ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।