लन्डन | नेपाली खानालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेका शेफ शंकर पाण्डेले बेलायतको केन्ट र ब्ल्याकहिथमा फैलिएको एभरेस्ट इन रेस्टुराँ समूहमा आफ्नो २० वर्षे सेवा यात्रा पूरा गरेका छन्। कार्यकारी शेफको रूपमा उनले समूहको नेतृत्व गर्दै नेपाली परिकारलाई आधुनिक स्वाद र शैलीमा प्रस्तुत गर्दै आएका छन्।
पश्चिम नेपालमा जन्मिएका पाण्डेले बाल्यकालदेखि नै आमातर्फबाट खाना पकाउने सीप सिक्न थालेका थिए। आमा र हजुरआमासँग चुल्होछेउ बिताएको बाल्यकालले नै उनलाई पाककलातर्फ प्रेरित गर्यो। त्यसपछि उनले आफ्नो सीपलाई परिष्कृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय शेफहरू—जसमा एन्ड्र्यु बोडमर, मार्क लागोस र ज्याक्लिन एप्सजस्ता प्रतिष्ठित नामहरू छन्—सँग काम गर्ने अवसर प्राप्त गरे।
शेफ शंकरले सन् २००५ मा हाइथस्थित एभरेस्ट इनमा कार्यकारी शेफको रूपमा काम गर्न सुरु गरेका थिए। उनले परम्परागत नेपाली स्वादमा आधुनिक प्रयोगशैली मिसाएर तयार पारेको मेनुले रेस्टुराँलाई बेलायती ग्राहकसहित अन्तर्राष्ट्रिय पाहुनाबीच लोकप्रिय बनाएको छ।
पाण्डेको नेतृत्वमा रहेको एभरेस्ट इन ग्रुप हाल केन्ट र ब्ल्याकहिथका थुप्रै स्थानमा स्थापित भइसकेको छ।
२०२४ मा बेलायतका प्रख्यात सेफ रिक स्टाइनको टेलिभिजन कार्यक्रममा उनले नेपाली खानाको प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय दर्शकसामु नेपालका स्वाद र परम्परालाई चिनाएका थिए। उक्त कार्यक्रममा उनको प्रस्तुतीले व्यापक चर्चा पाएको थियो।
शेफ पाण्डे र उनको टोलीले नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री क्याट्रिना कैफ, इङ्ल्यान्डका फुटबल खेलाडी सोल क्याम्पबेललगायत विशिष्ट व्यक्तित्वहरूलाई सेवा गरिसकेका छन्। साथै, लन्डनस्थित सिटी हल, १० डाउनिङ स्ट्रिट, हाउस अफ लोर्ड्स, युके संसद, र केन्सिङ्टन प्यालेस गार्डेनका नेपाली दूतावासमा समेत उनले क्याटरिङ सेवा प्रदान गरिसकेका छन्।
शेफ पाण्डेले नयाँ पुस्ताका शेफहरूलाई तालिम दिने, परिवारजस्तो कार्यसंस्कृति बनाउने र सहयोगी वातावरण निर्माण गर्ने कुरामा विशेष ध्यान दिँदै आएका छन्। “हामी परिवार हौं, हामी सँगै काम गर्छौं” भन्ने उनको सोचले एभरेस्ट इनलाई व्यावसायिक सफलतासँगै मानवीयतामा पनि उदाहरणीय बनाएको छ।
शेफ शंकर पाण्डेको दुई दशक लामो योगदानले नेपाली खानाको स्वादलाई बेलायत र त्यसपारिका देशहरूमा चिनाउने कार्यमा ऐतिहासिक उपलब्धि हासिल गराएको छ।
Via : Agency