काठमाडौँ — बेलायती राजकुमार एडवार्ड काठमाडौं पुगेका छन् । मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका एडवार्ड ६ दिने भ्रमणका लागि नेपाल पुगेका हुन् । एडिनबर्गका ड्युकसमेत रहेका उनी बेलायती राजा चार्ल्स तृतीयका भाइ हुन् ।
उनलाई परराष्ट्रसचिव अमृत राईले स्वागत गरेका छन् । त्यस्तै, मंगलबार बिहान उनकी श्रीमती एडिनबर्गकी डचेस सोफी पनि काठमाडौं आएकी छिन् । उनीहरूको निजी भ्रमण भए पनि नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिएका छन्।
उनीहरू बुधवार काठमाडौंस्थित माइती नेपालमा जाने कार्यतालिका छ । त्यस्तै, उनीहरू पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमशृंखला हेर्ने र ब्रिटिस गोर्खाको क्याम्पमा जाने तालिका रहेको छ ।