लन्डन / अघिल्ला बर्षहरुमा ट्राफलगर स्कवाएरमा मनाईदै आएको बुद्ध जयन्ती यस बर्ष लण्डनको वुलवीचमा मनाईएको छ । बुद्ध फाउण्डेसन यूकेको आयोजनामा २५६८औं बुद्धजयन्ती विशेष कार्यक्रमसहित मनाइएको हो।
आइतबार वुल्लीचको जनरल गोर्डन स्क्वायरमा सम्पन्न कार्यक्रममा स्थानीय र बेलायतभरका गरी एक हजार भन्दा बढी नेपाली सहभागी थिए।
कार्यक्रमको अन्त्यमा विश्व शान्तिको कामना गर्दै सबै अतिथि एवम् सहभागीहरुबाट सामूहिक दीप प्रज्ववलन गराइयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गौतम बुद्धको शान्ति सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका कार्यक्रमले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा कार्यक्रमले सघाउ पुर्याउने बताए ।
स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जीत रानाभाटले कार्यक्रमले बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्न सहयोग पुर्याउने बताए।
कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिए ।
आयोजकले बुद्ध मूर्तिमा पुजा र प्राथना गर्ने बन्दोबस्त मिलाएका थिए भने बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो ।
ध्वजापतका, बुद्धका मूर्तिहरु, बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवर्द्धनका लागि राखिएका कयौं सामग्रीले सजिदा कार्यक्रमस्थल आकर्षक बनेको थियो ।
आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिए।
प्रसुना कंडेलले सञ्चालन गरेकी कार्यक्रममा नेपालबाट आएका गायक सुरेश लामा र गायिका अनु चौधरीसंगै शर्मिला बर्देवा, दीपक थापालगायतले गायन प्रस्तुत गरे ।
पासा पुचःयूकेद्वारा धिमे बाजा प्रस्तुत गरेको थियो भने । कलाकार बिनोद चिपालुले लाखे नाच देखाएका थिए ।
तस्बीरहरुःदिनेशकुमार परियार