लण्डन / नेपाली कला, भाषा, साहित्य, संस्कृति र फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय मंचमा पुर्याउने उद्देश्यसहित थर्ड आई लिमिटेड ले यस वर्ष लन्डनमा तेस्रो नेपाली फिल्म महोत्सव आयोजना गर्ने तयारी गरिरहेको छ। संस्थाका अध्यक्ष विकास देवकोटाका अनुसार, यो महोत्सव नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने एक ऐतिहासिक अवसर हुनेछ।
देवकोटाका अनुसार, महोत्सवमा नेपालका सामाजिक, सांस्कृतिक पक्ष र जीवनशैली झल्काउने फिल्महरू प्रदर्शन गरिनेछ। “यसले न केवल नेपाली चलचित्र उद्योगको विकासमा मद्दत पुर्याउनेछ, तर नेपाली भाषा र संस्कृतिको विश्वव्यापी प्रचारप्रसारमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ,” अध्यक्ष देवकोटाले बताए।
महोत्सवले प्रवासी नेपाली समुदायलाई आधुनिक नेपाली चलचित्रहरूको विषयवस्तु, प्रस्तुतिकरण शैली र प्रवृत्तिबारे जानकारी गराउने लक्ष्य पनि लिएको छ। साथै, नयाँ दृष्टिकोण र सन्देश बोकेका चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकहरूलाई नेपाली फिल्मको पहुँच बढाउने उद्देश्य पनि राखिएको छ।
महोत्सवमा भाग लिन चाहने चलचित्र नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्नेछ, अथवा नेपाली वा अङ्ग्रेजी सबटाइटलसहित प्रस्तुत गरिनुपर्नेछ। हालसम्म विश्वभरबाट ३९८ वटा चलचित्रले आवेदन दिएका छन्, जसबाट निर्णायक मण्डलले १० उत्कृष्ट फिल्महरू छनोट गर्नेछ। तीमध्ये ३ वटा नेपालमै निर्माण भएका चलचित्र हुनेछन्।
छनोट गरिएका चलचित्रहरू यूकेका विभिन्न सहरहरूमा मात्र होइन, डिजिटल प्लेटफर्ममार्फत पनि विश्वभर प्रस्तुत गरिनेछन्।
समापन समारोह ३१ मेमा हुने छ, जसमा नेपाल र बेलायतका चर्चित कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। चलचित्र क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानपत्रद्वारा कदर गरिनेछ। सहभागी कलाकारहरूमा सन्तोष पन्त, विपना थापा, दिनेश डीसी, धिरेन शाक्य, मोहन निरौला, रवीन्द्र खड्का, नीति शाह, सुवानी मोक्तान, एलिस कार्की, सुवास भुसाल, प्रताप दास, आश्मा विश्वकर्मा र राजेश बर्देवा जस्ता नामहरू रहेका छन्।
महोत्सवको उद्घाटन समारोह १८ मेमा सम्पन्न हुनेछ।