वरिष्ठ पत्रकार तथा समाजसेवी भैरव रिसालको निधन भएको छ। उनी ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज निधन भएका हुन्। मुटु र फोक्सो सम्बन्धी समस्याले ग्रस्त रिसालको अन्तिम समयमा अस्पतालमा उपचार भइरहेको थियो। उनको निधनको पुष्टि उनका भाइ पुरु रिसालले गरेका छन्।
भक्तपुरको तिथलीमा १९८५ साउन २९ गते जन्मिएका रिसालले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनी राष्ट्रिय समाचार समिति (रासस)का प्रमुख समाचारदाता रहिसकेका थिए। पत्रकारिता अघि उनले तथ्याङ्क विभागमा समेत काम गरेका थिए।
रिसालले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ नामक लोकप्रिय रेडियो कार्यक्रम सञ्चालन गरेका थिए। वामपन्थी सोच राख्ने उनी २०४८ सालको आम निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट भक्तपुरबाट उम्मेदवार समेत बनेका थिए।
मानव अधिकार, वातावरण संरक्षण र साहित्यिक योगदानका लागि उनले जगदम्बा श्रीसहित विभिन्न सम्मानहरू प्राप्त गरेका थिए। जीवनभर समाजसेवा र लेखनमा समर्पित रिसालले ‘साधुलाई सुली (जेल डायरी)’, ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘भैरव दाइ’जस्ता पुस्तकहरू प्रकाशन गरेका छन्।
रिसालले पहिले नै आफ्नो मृत्युपछि शरीर पाटन अस्पताललाई अध्ययनका लागि दान गर्ने घोषणा गरेका थिए। उनी श्रीमती, दुई छोरा र दुई छोरीसहित परिवारमा बाँकी रहेका छन्।