काठमाडौँ । गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा आएका दीपक मनाङे मंगलबार जेल चलान भएका छन् । २१ वर्षअघि गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनालेको घटनामा जेल चलान भएका हुन् ।
सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघि फैसलालाई नै सदर गर्दै उनीमाथि ५ वर्ष जेल सजाय हुने ठहर गरेसँगै उनलाई मंगलबार बिहान प्रहरीले राजधानीको सानोभर्याङ क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ परेसँगै काठमाडौँ जिल्ला अदालतमा पेस भएका उनी लगत्तै डिल्लीबजार कारागार चलान भएका हुन् ।
गुण्डागर्दीकै पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङे दुई पटक गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भए भने पटक पटक मन्त्री समेत भए ।
मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने बताइएको छ ।
ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन माथि २०६१ सालमा आक्रमण गरेको थियो । सो क्रममा चक्रे मिलनको हात छिनेको थियो । सोही घटनाको मुद्दामा अहिले माथिल्लो अदालतबाट फैसला भएसँगै कार्यान्वयनमा गएको हो ।