लण्डन / १५ औं नेपाली मेलाको तयारी पूरा भएको छ। तमुधिं यूकेले आइतबार मिचेटस्थित तमुधिं भवनमा आयोजित पत्रकार सम्मेलनमा तमुधिं यूके उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङले सो जानकारी दिएका हुन् ।
मेला हेर्न १२ वर्षमाथिका वयस्कलाई ५ पाउण्ड
कार पार्किङ ५ पाउण्ड
१२ वर्ष मुनीकालाई निशुल्क प्रवेश
लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा यही २५ अगष्ट आइतबार केम्पटन पार्क रेस कोर्समा बिहान १० बजेबाट सांझ आठ बजे सम्म हुने बताए । यसपालीको मेलामा करिब सात हजार दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङले मेलामा सहभागी हुन बेलायतवासी नेपालीमा अपिल गरेका छन् । उनका अनुसार यसपटक मेलामा फरक पनि दिन झांकी, रुट, स्टेज आदि परिवर्तन गरिएको छ ।
मेलामा विभिन्न मौलिक झांकी र नृत्यका लागि बिभिन्न ४२ नेपाली संघसंस्थाहरुले सहभागिता जनाउने आयोजकले बताएका छन् ।
संयोजक परशु गुरुङका अनुसार उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने समूहलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरिने छ । एम्बासडर कप विजेताले एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्राप्त गर्नेछन् । फष्ट रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड, सर्टिफिकेट एवं मेडल प्राप्त गर्नेछन् ।
झांकीमा वा नृत्यमा मात्र उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउण्ड, फष्ट रनरअपलाई ३०० पाउण्ड, र सेकेन्ड रनरअपलाई २०० पाउण्ड नगदसहित सर्टिफिकेट एवं मेडल प्रदान गरिनेछ ।
मेलामा नेपाली खाना, हस्तकला, पोशाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका ५० वटा व्यापारिक स्टलहरु रहनेछन् ।
तुमु धीं युकेका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिए ।
प्रेम मिटमा मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित सञ्चारकर्मीहरुलाई परिचयसहित सम्मान गरेका थिए ।साथै यसपल्ट पत्रकारहरुको सम्मानमा मायाँको चिनो प्रदान गरिएको थियो ।
तस्वीरः दिनेशकुमार