
लन्डन । १५ नोभेम्बर, शनिवार साँझ लन्डनको ग्रीनफोर्ड टाउन हलमा ‘दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड २०२५ (इन्फा अवार्ड)’ भव्य रूपमा आयोजना हुँदैछ। यस भव्य अवार्ड समारोहमा सहभागी हुन नेपालका करिब तीन दर्जन ख्यातिप्राप्त कलाकारहरू लन्डन आइपुगेका छन्। उनीहरू नोभेम्बर ११ देखि आवागमन सुरु गरेका थिए भने धेरैजसो १३ र १४ नोभेम्बरमा हिथ्रो विमानस्थल हुँदै लन्डन आइपुगेका हुन्।
लन्डन आइपुगेका कलाकारहरूमा दीपकराज गिरी, दीपाश्री निरौला, गौरी मल्ल, केदार घिमिरे, जीतु नेपाल, प्रदीप खड्का, रमेश बुढाथोकी, एन्जिला तुम्बापो सुब्बा, दिव्या रायमाझी, तेरिया राना मगर, केकी अधिकारी, निता ढुंगानालगायत तीन दर्जनजति चर्चित कलाकार रहेका छन्।

अभिनेत्री दीपाश्री निरौलाका अनुसार, विदेशमै बसेर नेपाली कला–संस्कृतिलाई आत्मसात् गर्ने समुदायको माया र अपनत्वको प्रतिकका रूपमा यो कार्यक्रम विशेष छ। हास्यकलाकार तथा निर्माता दीपकराज गिरीले यस्ता अवार्डहरूले विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने पुल निर्माण गरेको बताएका छन्।
कार्यक्रममा ५५ वटा फिल्ममध्येबाट २७ विधामा अवार्ड वितरण गरिनेछ। छनोटका लागि गौरी मल्ल (संयोजक), रमेश बुढाथोकी र करुण थापासमेतको विशेष जूरी समिति गठन गरिएको छ।
यसपटक अभिनेत्री शर्मिला मल्ललाई देउराली ट्राभल्सको प्रायोजनमा एक लाख एक हजार रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’प्रदान गरिनेछ।
स्टेजमा गायन, हास्यव्यंग्य, नृत्य तथा अन्य आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ।
अवार्ड सफल बनाउन बेलायतबाट उमेशराज मोक्तान, टंक भट्टराई, राज पाण्डे, आशिषराज पन्त तथा नेपालबाट सुनील श्रेष्ठ, पाल्देन लामा, मनोज केसी, मनिष कार्कीलगायतको टोली सक्रिय रूपमा जुटिरहेको छ।
कार्यक्रममा प्रवेश शुल्क २०, ३०, ५० पाउण्ड तथा भिभिआइपीका लागि १०० पाउण्ड तोकिएको छ। भिभिआइपी टिकटधारीले अर्को दिन कलाकारहरूसँग ‘मिट एन्ड ग्रीट’ मा पनि सहभागी हुन पाउनेछन्।
इन्फा अवार्डमा सहभागी अधिकांश कलाकार आगामी सोमबार नेपाल फर्कने कार्यक्रम छ। आयोजकहरूले बेलायतस्थित सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भएर कलाकारहरूलाई हौसला दिन आग्रह गरेका छन्।
