लन्डन। बालबालिका र किशोरीमाथि लामो अवधिसम्म यौन दुराचार र बलात्कार गरेको प्रमाणित भएपछि क्याम्ब्रिज क्राउन कोर्टले पिटरबरो निवासी ४९ वर्षीय प्रमोद ढकाललाई २५ वर्ष जेल सजाय सुनाएको छ। जेल सजायपछि उनले थप ८ वर्ष कडा निगरानीमा जीवनयापन गर्नुपर्ने अदालतले आदेश दिएको छ।
ढकालमाथि करिब दुई दशकको अवधि अर्थात् १७ देखि १९ वर्षबीच आठ जना पीडित विरुद्ध गरेका २५ वटा अलग–अलग यौन अपराध प्रमाणित भएका थिए। दोषी ठहर गरिएका अपराधमध्ये १३ वर्षमुनिका बालिकामाथि पाँच पटक, १३ वर्षभन्दा माथिका किशोरीमाथि दुई पटक बलात्कार, तथा विभिन्न वर्षमा गरिएका अन्य यौन शोषणका घटना समावेश छन्। एक पीडितको उमेर घटना हुँदा केवल ८ वर्ष रहेको अदालतलाई पेस गरिएको विवरणमा उल्लेख छ।
अदालतमा प्रस्तुत प्रमाण र बयानअनुसार अधिकांश अपराध पिटरबरो क्षेत्रमा भएका थिए भने एक घटना लन्डनमा गरिएको थियो।
विश्वासको दुरुपयोग
ढकाल पिटरबरोस्थित नेपाली समुदायमा वर्षौंदेखि सक्रिय थिए र धार्मिक क्रियाकलापमा संलग्न रहेकाले स्थानीयले उनलाई विश्वासिलो व्यक्ति मान्ने गर्थे। अदालतले यही विश्वास र पहुँचलाई उनले दुरुपयोग गरेको ठहर गरेको छ।
विवरण अनुसार, धेरै पीडितहरू ढकालसँग नजिकिएका पारिवारिक सम्बन्ध भएका थिए, जसले गर्दा उनीहरूको आवाज वर्षौंदेखि दबिएको थियो।
पीडितहरूको बयानबाट उजागर
यो मुद्दा सार्वजनिक रूपमा अघि बढ्नु २०२३ नोभेम्बर पछि सम्भव भयो, जब एक पीडितले आफ्नो परिवारसँग कुरा गरेपछि घटना प्रहरीसम्म पुगेको थियो। त्यसपछि अन्य पीडितहरूले समेत उजुरी गर्दै प्रमाणहरू जोडिँदै गए।
अदालतमा पीडितहरूले ढकालप्रति आफूसँग भएको विश्वास र पारिवारिक नाताको दुरुपयोगले परेको मनोवैज्ञानिक असरबारे बयान दिएका थिए। उनीहरूले वर्षौंदेखि बोल्न नसक्नुको कारण डर, समाजको दबाब र लाजलाई बताएका छन्।
अदालतको निर्णय
जजले फैसला सुनाउँदै ढकालले “समुदायमा बनाएको छवि र धार्मिक भूमिकाको उपयोग गरी बालबालिकासँग सजिलै पहुँच बनाएर वर्षाैंसम्म दुरुपयोग गरेको” टिप्पणी गरेका थिए।
अदालतका अनुसार ढकालले पूरा प्रक्रिया भरिमा आरोप अस्वीकार गर्नेमात्र होइन, केही अवस्थामा पीडितकै व्यवहारलाई दोष लगाउन खोजेका थिए, जसलाई न्यायालयले “गम्भीर गैरजिम्मेवारी” ठानेको छ।
बेलायतमा यस्तो प्रकृतिका मुद्दामा सजाय किन कडा हुन्छ
बेलायतमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथिको बलात्कार अत्यन्त गम्भीर अपराध मानिन्छ। यस्तो अवस्थामा अदालतले पीडितको उमेर, अपराध भएको अवधि, विश्वासको दुरुपयोग र पीडितको जीवनभर पर्ने प्रभावलाई विशेष तौल दिन्छ।
ढकालको मामलामा यी सबै पक्षहरू एकसाथ देखिएका थिए, जसका आधारमा अदालतले दीर्घकालीन सजाय सुनाएको हो।
समुदाय र पीडितका लागि सन्देश
स्थानीय प्रहरीका अनुसार दुई दशकअघिका घटनाहरू पनि उजागर हुन सक्छन् र पीडितले ढिला भए पनि न्याय पाउन सक्छन्।
सामाजिक तथा पारिवारिक दबाबका कारण लामो समयसम्म मौन बस्न बाध्य हुने बालबालिकाका मुद्दा सार्वजनिक भएपछि प्रहरीले बहुभाषीय सहयोग र समुदाय–केन्द्रित सचेतना अभियानमा जोड दिने बताए।
