एमालेमा ओलीको ह्याट्रिक, केन्द्रीय कमिटीमा एकछत्र वर्चस्व
४ पुस, काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप खेप्दै आएका ओलीले यसपटक भने भारी मतान्तरसहित अध्यक्ष पदमा पुनः जित हात पारेका हुन्।
काठमाडौंमा बुधबार र बिहीबार सम्पन्न निर्वाचन प्रक्रियाबाट ओलीले अध्यक्षमा ह्याट्रिक पूरा गरे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनसहित उम्मेदवार बनेका ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले १६६३ मत प्राप्त गरे भने पोखरेलले ५६४ मतमा सीमित भए।
निर्वाचन आयोगका अनुसार कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित रहे। बाँकी २२२७ प्रतिनिधिले मतदानमा भाग लिएका थिए।
निर्वाचन तालिका सार्वजनिक भएसँगै ओली र पोखरेल दुवै पक्षले आ–आफ्नो प्यानल सार्वजनिक गरेका थिए। अन्तिम नतिजासँग तुलना गर्दा ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ५० जना सदस्य दुवै प्यानलमा समेटिएका देखिन्छन्, जुन करिब १६.६१ प्रतिशत हो। पोखरेल समूहको सूचीमा मात्र रहेका १२ जना (३.९८ प्रतिशत) निर्वाचित भए भने ओली समूहको सूचीअनुसार २२६ जना सदस्य निर्वाचित भएका छन्, जुन करिब ७५ प्रतिशतभन्दा बढी हो। १३ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।
यी तथ्यांकले एमाले केन्द्रीय कमिटीमा ओली समूहको स्पष्ट बहुमत र प्रभाव देखाएको छ। १९ सदस्यीय पदाधिकारीमा पनि ओली समूहको दबदबा कायमै रहँदा दुई जना मात्र अन्य समूहबाट निर्वाचित भएका छन्। अब स्थायी कमिटी र पोलिटब्यूरो पनि केन्द्रीय कमिटीबाटै बन्ने भएकाले ती संरचनामा समेत ओली पक्षको वर्चस्व रहने लगभग निश्चित देखिन्छ।
महाधिवेशनको नतिजाले पार्टीभित्र ओलीको पकड कति बलियो छ भन्ने सन्देश दिएको छ। जेनेरेसन परिवर्तनको माग र नेतृत्वको औचित्यमाथि उठेका प्रश्नका बीच एमालेले निर्धारित समयभन्दा एक वर्षअघि नै ११औं महाधिवेशन आयोजना गरेको थियो।
पार्टी संकटमा परेको बेला नेतृत्वलाई निरन्तरता दिनुपर्ने मत एकातिर थियो भने अर्कोतर्फ नेतृत्व परिवर्तनको दबाब पनि उत्तिकै थियो। ओलीले लोकतान्त्रिक प्रक्रियाबाट आफूलाई पुनः परीक्षण गर्न चाहेको संकेत दिएका थिए। अन्ततः प्रतिनिधिहरूको मतबाट उनी फेरि अध्यक्षमा निर्वाचित भए।
केन्द्रीय कमिटीमा आफ्नो पक्षको प्रबल उपस्थिति भएपछि अब पार्टीभित्र निर्णय प्रक्रिया ओलीका लागि झनै सहज बनेको विश्लेषण गरिएको छ। यही आत्मविश्वासका साथ उनले महाधिवेशन समापन समारोहमा पार्टीलाई कमजोर पार्ने प्रयास गर्नेहरूप्रति कडा चेतावनी दिएका थिए।
१०औं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीमा पनि ओलीको बहुमत थियो। तर समयक्रममा उनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्ने नेताहरूको संख्या बढ्दै गएको थियो। विशेषगरी पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता अनुमोदन नगर्ने निर्णयपछि असन्तोष चुलिएको देखिन्थ्यो। यद्यपि यसपटक तल्लो तहबाट आएका प्रतिनिधिहरूले पुनः ओलीकै नेतृत्वमा भरोसा जनाएका छन्।
प्रतिनिधिहरूले उनलाई अध्यक्षमा मात्र होइन, उनको समूहलाई पनि स्पष्ट बहुमत दिलाउँदै आगामी कार्यकालका लागि बलियो आधार तयार गरिदिएका छन्।
१) ओली समूहबाट निर्वाचित
ओली नेतृत्वको प्यानलबाट बहुमत केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस समूहले करिब तीन चौथाइभन्दा बढी स्थान सुरक्षित गरेको छ, जसले पार्टीको भावी निर्णय प्रक्रियामा उनीहरूको निर्णायक प्रभाव सुनिश्चित गरेको छ।
प्रमुख नेताहरू:
केपी शर्मा ओली, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, रघुजी पन्त, लेखराज भट्ट, खगराज अधिकारी, पद्मा अर्याल, महेश बस्नेत लगायत।
२) पोखरेल समूहबाट निर्वाचित
ईश्वर पोखरेल नेतृत्वको समूहबाट सीमित संख्यामा केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस समूहको उपस्थिति केन्द्रीय कमिटीमा अल्पमतमा रहेको छ।
प्रमुख नेताहरू:
ईश्वर पोखरेल, गोकर्ण विष्ट, योगेश भट्टराई, अग्निप्रसाद खरेल, गोकुल बास्कोटा ।
३) दुवै प्यानलमा समेटिएर निर्वाचित
ओली र पोखरेल दुवै पक्षको प्यानलमा रहेका केही नेताहरू निर्वाचित भएका छन्। यस्ता सदस्यहरूको संख्या ५० छ।
केही नामहरू:
जितबहादुर मल्ल, डम्बरबहादुर सिंह, कल्पना चापागाईं, हेमराज राई, नरदेवी पुन, रामकुमारी झाँक्री, विनोद श्रेष्ठ, डा. वीरेन्द्रराज शर्मा पोखरेल।
४) निर्विरोध निर्वाचित
महाधिवेशन प्रक्रियाबाट १३ जना केन्द्रीय सदस्य निर्विरोध चयन भएका छन्।
नामहरू:
लिलामणि गौतम, गुमादेवी आचार्य, मेनका कुमारी पोखरेल, शान्तिदेवी ढकाल, अमरकुमार यादव, रौनित शाह, साजिदा खातुन सिद्धिकी, हरि प्रसाद घिमिरे, नरेश रोकाया ।
