काठमाडौं । आजबाट नेपालीहरूको महान् पर्व बडादशैं सुरु भएको छ। दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, जसमा घर–घरमा वैदिक विधिअनुसार पूजा आराधना गरी कलश र जमरा राख्ने परम्परा रहिआएको छ।
घटस्थापना विधि
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधामका साथ मनाइने बडादशैं आज घटस्थापनासँगै सुरु भएको हो। पूजा कोठा वा दशैं घरलाई गाईको गोबरले लिपपोत गरिन्छ। त्यसपछि पवित्र नदी वा चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौ छरेर जमरा राखिन्छ।
जौको अंकुर देवी दुर्गाको प्रिय वस्तु मानिन्छ। विजयादशमीका दिन यही जमरा पहेँलो भइसकेपछि टीका प्रसादसहित ग्रहण गरिन्छ, जसलाई समृद्धि र शुभको प्रतीकका रूपमा लिइन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार, “जौ बाहेक अन्य अन्नबालीको जमरा राख्ने शास्त्रीय विधि छैन।” कतिपयले गहुँ वा मकैको जमरा राख्ने गरे पनि शास्त्रअनुसार जौलाई मात्र मान्यता दिइएको छ।
नवरात्र र दुर्गा पूजा
घटस्थापनादेखि दशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ। यस अवधिभर दुर्गाका नौ रूपको आराधना गरिन्छ।
-
पहिलो दिन — शैलपुत्री
-
दोस्रो दिन — ब्रह्मचारिणी
-
तेस्रो दिन — चन्द्रघण्टा
-
चौथो दिन — कुष्माण्डा
-
पाँचौं दिन — स्कन्दमाता
-
छैटौं दिन — कात्यायनी
-
सातौं दिन — कालरात्री
-
आठौं दिन — महागौरी
-
नवौं दिन — सिद्धिदात्री
सातौं दिन फूलपाती भित्राइन्छ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने परम्परा छ। यस अवधिमा दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य स्तोत्र–स्तोतिको पाठ गरिन्छ।
शक्तिपीठमा भीड
नवरात्रमा देशभरका प्रमुख शक्तिपीठहरू—नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवीलगायतका मन्दिरमा विशेष पूजा आयोजना हुन्छ। यस क्रममा भक्तजनहरूको ठूलो भीड लाग्ने परम्परा रहिआएको छ।
दशैंको महत्त्व
दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। धर्मशास्त्रका जानकारका अनुसार, दुर्गा पूजा र दशैं कुनै जात वा धर्म विशेषसँग मात्र सम्बन्धित नभई सम्पूर्ण मानवताको कल्याणका लागि गरिएको आराधना हो।
टीका मिति
यस वर्ष विजयादशमीका दिन टीका असोज १६ गते परेको छ। यस दिन घर–घरमा दुर्गा देवीको प्रसाद स्वरूप टीका र जमरा ग्रहण गर्ने परम्परा छ।
