लन्डन । बेलायतमा कामको अनुमति मिलाइदिने भन्दै नेपालीहरूमाथि नेपालीबाटै ठगी हुने घटनाहरू बढ्दै गएपछि लन्डनस्थित नेपाली दूतावासले गम्भीर चासो व्यक्त गरेको छ। दूतावासले सूचना जारी गर्दै रोजगारीका लागि स्पोन्सरसीप खोजिदिने बहानामा धेरै नेपाली ठगीमा परेको गुनासो प्राप्त भएको जनाउँदै सबैलाई सतर्क रहन आग्रह गरेको हो।
दूतावासका अनुसार ठगीमा परेकामध्ये केही नेपालबाट यूके आउन चाहने छन् भने केही पहिलेबाटै यूकेमा बसोबास गर्दै आएका नेपाली पनि छन्। सूचनामा उल्लेख गरिएअनुसार यस्ता ठगीमा संलग्न व्यक्ति कतिपय नेपाली मूलकै रहेका छन्। चिनजानका नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराई ठगीमा पारिएका घटनाहरूको गुनासो पनि आएको दूतावासले जनाएको छ।
दूतावासले भनेको छ, यस्ता ठगीका घटनामा धेरै व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने, आफ्नो वास्तविक पहिचान लुकाउने, फरक नाम प्रयोग गर्ने, ठेगाना नखुलाउने, सम्पर्क नम्बर पटकपटक परिवर्तन गर्ने र रकम लिएपछि सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको छ।
यस्ता व्यक्तिहरूले यूकेको कानुनी कारबाहीबाट जोगिन र प्रमाण नछोड्न नेपालमै नगद रकम उठाउने र यूकेमा बैंकिङ कारोबार नगर्ने गरेको समेत पाइएको दूतावासले जनाएको छ।
नेपाल र बेलायत दुवै देशमा यस्ता कार्य कानुनतः अपराध हुने भएकाले समस्या परेमा नेपालका सम्बन्धित अनुसन्धान निकाय, यूकेका स्थानीय प्रहरी कार्यालय तथा नेशनल एन्टी फ्रड नेटवर्क एक्सन फ्रडमा उजुरी दिन दूतावासले सुझाव दिएको छ।
ठगीमा परेका वा समस्या भोगिरहेका नेपालीलाई info@nepembassy.org.uk इमेल वा +44-7404939274 नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।
पछिल्लो समय बेलायतमा असाइलम केस, वर्क परमिट स्पोन्सरसीप, जागिर र कोठा मिलाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने घटनाहरू बढ्दै गएको पाइएको छ। यसबाट विद्यार्थी मात्र होइन, गैर विद्यार्थी नेपालीहरू पनि प्रभावित भएका छन्। आर्थिक नोक्सानीसँगै पीडित र उनका परिवारले गहिरो मानसिक तनाव झेल्नुपरेको अवस्था छ।

