लण्डन/ बेलायतभर नर्सहरूको अन्तर्राष्ट्रिय भर्ती दर घट्दै गएको छ भने दर्ताबाट नर्सहरू बाहिरिने संख्या बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। नर्सिङ एण्ड मिडवाइफरी काउन्सिलले हालै अप्रिलदेखि सेप्टेम्बरसम्मको मध्यवर्षीय प्रतिवेदन जारी गर्दै यो जानकारी दिएको हो।
भर्ती दर घट्दै, छोड्ने संख्या बढ्दै प्रतिवेदनले देखाए अनुसार सेप्टेम्बर ३०, २०२४ सम्म, दर्तामा कुल ८४१,३६७ व्यक्तिहरू छन्। यो संख्या ७७८,३४० नर्सहरू, ४५,१९८ मिडवाइफहरू, ११,५५१ नर्सिङ एसोसिएटहरू र ६,२७८ दुईहरी दर्ता भएका पेशाकर्मीहरूबाट बनेको छ। तर, अप्रिलदेखि सेप्टेम्बरसम्म पहिलोपटक दर्ता हुनेको संख्या गत वर्षभन्दा ९।२५ ले घटेर २७,३१३ मा झरेको छ।
त्यस्तै, सोही अवधिमा दर्ता छोड्नेहरूको संख्या १४,१४२ पुगेको छ, जुन गत वर्षको १३,३०५ भन्दा ६।३५ धेरै हो।
अन्तर्राष्ट्रिय भर्तीमा गिरावट
अप्रिलदेखि सेप्टेम्बरसम्म १२,५३४ अन्तर्राष्ट्रिय पेशाकर्मीहरूले दर्ता गरेका छन्, जुन गत वर्षभन्दा १६.६५ कम हो। भारतका ६७,५७६ पेशाकर्मीहरूले सबैभन्दा ठूलो समूहको प्रतिनिधित्व गरेका छन्।
नेपालमा पढेका नर्सहरुको भर्ती दरमा भने उल्लेखनीय वृद्धि भएको छ। गत ६ महिनामा यो संख्या दोब्बर भएको छ।
नेपाललाई २०२२ मा ‘रेड लिस्ट’ बाट ‘एम्बर लिस्ट’ मा सारिएपछि यो परिवर्तन आएको हो। नेपाल र बेलायत सरकारबीचको सहमतिअनुसार, सक्रिय भर्ती केवल ह्याम्सपाएर हस्पीटल र यसको साझेदारहरूले गर्न पाउने छन्।
विशेषज्ञहरूको प्रतिक्रिया
रॉयल कलेज अफ नर्सिङ(आरसीएन)का महासचिव प्रोफेसर निकोला रेन्जरले नर्सहरूको भर्ती घट्दै जानु र पाँच वर्षभित्रै पेशा छोड्नेहरूको संख्या बढ्नु बिरामीहरूको लागि गम्भीर समस्या भएको बताईन ।
उनले सरकारलाई तत्काल नीतिगत सुधार गर्न आग्रह गर्दै नर्सहरूको कम तलब, थकान र सेवाहरूमा लगानीको अभावले संकट गहिरिने चेतावनी दिईन ।
पाँच वर्षभित्र पेशा छोड्नेहरूको संख्या बढ्दै
आरसीएनका अनुसार, पाँच वर्षभित्र दर्ता छोड्नेहरूको संख्या यस वर्ष १,७९९ पुगेको छ, जुन गत वर्ष १,२११ थियो।
यो प्रवृत्तिले नर्सिङ पेशामा औसत कार्यकाल घट्नसक्ने चिन्ता उत्पन्न गरेको छ।
आरसीएनका रणनीतिक निर्देशक कुलजित ढिल्लनले भनिन् “हामीले अन्तर्राष्ट्रिय भर्तीमा गिरावट र पेशाकर्मीहरूले पेशा छोड्ने दर बढेको देखेका छौँ। यो बेलायतको स्वास्थ्य सेवा योजना र बिरामीहरूको हेरचाहका लागि चुनौतीपूर्ण हो।”