काठमाण्डूबाट पोखरा हुँदै बेनी, पर्वत जाँदै गरेको एउटा यात्रुवाहक बस गजुरीनजिकै त्रिशूली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गमा धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ छहरेमा बुधवार बिहान ११ बजेतिर बस दुर्घटनाग्रस्त भएको थियो।
धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा छ पुरूष र दुई महिला छन्।
“बस सडकमा अनियन्त्रित भइ करिब ३५ मिटर तल खसेर खोलामा पुगेको देखिन्छ,” डीएसपी जैसवारले बीबीसीसँग भने।
काठमाण्डूबाट छुट्दा बसमा २३ जना रहेको विवरण रहेपनि दुर्घटना हुँदा गाडीमा कति यात्रु थिए भन्ने अझै यकिन नभएको घटनास्थल पुगेका धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिश्रले बीबीसीलाई बताए।
प्रहरीका अनुसार उद्धार गरिएकाहरूमध्ये घाइते १३ जनालाई थप उपचारका लागि काठमाण्डू पठाइएको छ।
दुर्घटनाग्रस्त बस खोलामा नै रहेको हुँदा उद्धारकार्य कठिन बनेको प्रहरीको भनाइ छ।
हालसम्म ‘नदिमा कोही हराइरहेको जानकारी नभए तापनि उद्धार तथा खोजकार्य अझै जारी राखिएको’ जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।