
सिद्धिचरण श्रेष्ठको खण्डकाव्यमा आधारित ऐतिहासिक नाटक बेलायतमा मञ्चन
दिनेश कुमार परियार , लन्डन — नेपाली इतिहासका महान् राष्ट्रनायक भीमसेन थापाको जीवन र योगदानलाई रंगमञ्चमार्फत उजागर गर्ने प्रयास लन्डनमा देखिएको छ। युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित ऐतिहासिक नाटक आइतबार बेलायतको ह्यारोस्थित क्लब परिसरमा भव्य रूपमा मञ्चन गरिएको हो।
नाटकको निर्देशन तथा परिकल्पना निर्देशक सनम कुमार बैरागले गरेका छन्। बैरागले स्वयं नाटकमा भीमसेन थापाको भूमिका निर्वाह गरेका छन्। नेपाली समुदायका लागि ऐतिहासिक चेतना र गर्वको अवसर बन्दै, बेलायतमा रहेका नेपाली दर्शकहरूले पहिलोपटक यस नाटकलाई प्रत्यक्ष अवलोकन गर्ने सौभाग्य प्राप्त गरेका हुन्।
कार्यक्रमको सफलतापछि नाटक टोलीले बेलायतका अन्य सहरहरू—रिडिङ, विलविच, अल्डरसट र स्कटल्यान्ड—मा पनि प्रस्तुति दिने तयारी गरिरहेको छ।
नेपालमा भने आगामी २०८२ सालको दसैँ–तिहारपछिको समयमा काठमाडौँको मण्डला थिएटरमा औपचारिक मञ्चन हुनेछ। निर्देशक बैरागका अनुसार त्यसपछिका चरणमा पोखरा, चितवन, बिर्तामोड, धरानलगायत ठूला शहरहरूमा समेत नाटकको प्रदर्शन गर्ने योजना छ।
इतिहासको जीवन्त पुनर्निर्माण
नाटकले भीमसेन थापाको साहस, दूरदर्शिता र राष्ट्रभक्ति झल्काउँछ। बेलायती साम्राज्यवादको दबाबका बीच नेपाललाई स्वतन्त्र राख्न गरेको उनको संघर्ष, सैनिक र प्रशासनिक सुधारहरू, र अन्ततः राजनीतिक षड्यन्त्रले उनको जीवनमा ल्याएको दुःखान्त अन्त्यलाई नाटकले गहिरो भावनात्मक प्रभावसहित प्रस्तुत गरेको छ।
संगीत संयोजन तारा प्रकाश लिम्बूले गरेका छन् भने नृत्य संयोजन कोरियोग्राफर चरण प्रधानले गरेका छन्। नाटकमा सामन्ता तामाङ, सुरेश श्रेष्ठ, गोपाल बस्नेत र सुशन गुरुङले उल्लेखनीय अभिनय प्रस्तुत गरेका छन्।
चार दशकदेखि रंगमञ्चमा सक्रिय निर्देशक
करीब ४० वर्षदेखि नेपाली रंगमञ्चमा निरन्तर क्रियाशील निर्देशक सनम कुमार बैराग पछिल्लो समय लन्डनमा स्थायी रूपमा बसोबास गरिरहेका छन्। उनले यसअघि ‘कैदीको पत्र’ चलचित्र निर्देशन गर्नुका साथै बेलायतमा ‘समय दृश्य’ र ‘जिगिशा’ जस्ता नाटकहरू सफलतापूर्वक मञ्चन गरिसकेका छन्।
भीमसेन थापा : एक अमर इतिहास
वि.सं. १८३२ सालमा जन्मिएका भीमसेन थापा नेपालका प्रथम मुख्तियार (प्रधानमन्त्री सरह) थिए। झन्डै तीन दशक लामो आफ्नो कार्यकालमा उनले मुलुकको सार्वभौमिकता जोगाउन, आधुनिक नेपाली सेना निर्माण गर्न, प्रशासनिक सुधारहरू लागू गर्न र सामाजिक अन्यायविरुद्ध लड्न अथक प्रयास गरे।
भीमसेन थापा ९वि।सं। १८३२ – १८९१० नेपालको इतिहासमा एक महान् राजनीतिज्ञ, सुधारक, र राष्ट्रिय नायकको रूपमा चिनिन्छन्। उनी नेपालका प्रथम प्रधानमन्त्री (मुख्तियार) थिए र करिब ३१ वर्षसम्म राष्ट्रको नेतृत्व गरे। उनको कार्यकालमा नेपालले पश्चिमी प्रभावविरुद्ध आत्मनिर्भरता र स्वाभिमानको मार्ग समातेको थियो। उनले आधुनिक नेपाली सेना निर्माण गरे, किल्ला निर्माण, प्रशासनिक सुधार, र विदेशी हस्तक्षेप विरुद्ध दृढ नीति अवलम्बन गरे। तर, राजनीतिक षड्यन्त्रका कारण जीवनको अन्त्य कारागारमै भयो। भीमसेन थापा केवल नेता मात्र होइनन्, उनी एक युगद्रष्टा थिए जसले आजको नेपाल निर्माणको जग हाल्न महत्वपूर्ण भूमिका खेले।
राजनीतिक षड्यन्त्र र दरबारभित्रको शक्ति संघर्षका कारण अन्ततः कारागारमा दुःखद अन्त्य व्यहोर्नु पर्यो। भीमसेन थापाको जीवन आज पनि नेपाली राष्ट्रियता र आत्मसम्मानको ज्वलन्त प्रतीक बनेको छ।