पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।
भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या ३७५ पुगेको छ।
शुक्रवार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा सबैभन्दा धेरै क्षति भएको र आफूहरूको ध्यान उद्धार तथा खोजमा केन्द्रित रहेको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बीबीसीलाई बताए।
राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए।
उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू खटिएका छन् भने हेलिकोप्टरसमेत परिचालन गरिएको छ।
अमेरिकी निकाय यूएसजीएसले उक्त भूकम्पको केन्द्रबिन्दु जुम्लाभन्दा ४२ किलोमिटर दक्षिण रहेको र त्यसको म्यागनिच्यूड ५.६ रहेको जनाएको छ।
सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि सबैभन्दा घातक भुइँचालोका रूपमा शुक्रवार रातिको भूकम्पलाई लिइएको छ।
भूकम्प प्रभावितहरू घर बाहिर
शनिवार साँझ जागरकोटको भूकम्प अतिप्रभावित क्षेत्रमा पुगेका हाम्रा संवाददाता प्रकाश पन्तका अनुसार त्यहाँ भूकम्प प्रभावितहरू घर बाहिर बसिरहेका छन्।
स्थानीय प्रशासनले कम्तीमा २४ घण्टा घरबाहिर रहन आग्रह गरेको बताइएको छ।
भूकम्पपछिका सम्भावित परकम्पहरूलाई ध्यानमा राखेर त्यस्तो आग्रह गरिएको अधिधारीहरूले जानकारी दिएका छन्।
चिसो मौसममा रहेका बाहिर बसिरहेका कतिपय भूकम्प प्रभावितहरूले पाल समेत नपाएको गुनासो गरेका छन्।