लण्डन । नेपाली फुटबलको राष्ट्रिय टोली इङ्ल्याण्ड सी संग बेलायतको अल्डरसटमा सोमबार भएको खेलमा २–० पराजित भयो ।
अल्डरसट टाउन फुटबल क्लव इबीबी स्टेडियममा सोमबार अपराह्न ३ बजे शुरु भएको सो खेलको सातौँ र १२ औँ मिनेटमा नेपालले दुई गोल खाएको थियो ।
इङ्ल्याण्डका तर्फबाट निकी काबाम्बाले सातौँ मिनेटमा रा कालम स्टिडले १२ औँ मिनेटमा गोल गरेका थिए ।आइतबार रातिदेखि परेको वर्षा खेल शुरु हुँदा पनि रोकिएको थिएन । नेपाली टोलीका लागि खेल मैदान र मौसमका कारण शुरुवाती चरणमा राम्रो खेल प्रर्दशन गर्न सकेन ।
मौसम पनि सुधार हुँदै दोश्रो चरणमा नेपाली टोलीको प्रदर्शनमा पनि सुधार हुँदै गएको थियो ।नेपाली टोलीको सुधारिएको प्रदर्शनसँगै खेल नजिते पनि दर्शकहरुले उनीहरुको पर्फमेन्सबाट भने चित्त बुझाएका थिए ।
खेल हेर्न बेलायतका विभिन्न स्थानबाट ५ हजार बढी दर्शकहरु आएका थिए ।खेलमा नेपालका गोलकिपर किरणकुमार लिम्बू म्यान अफ द म्याच भए ।
खेलपूर्व नेपाल र बेलायतको राष्ट्रिय गान गाइएको थियो । नेपालको राष्ट्रिय गान आनी छोइङ डोल्माले गाएकी थिइन् ।