लन्डन । क्याम्बर्लीस्थित कन्ट्री क्लवको अन्तर्राष्ट्रिय कन्सर्ट हलमा ‘इनर मेलोडी फर इनर पिस लाइभ’ कन्सर्ट सम्पन्न भयो ।
विश्वभरका नेपाली मात्र नभइ अन्तराष्ट्रियस्तरमा समेत लोकप्रिय गायिका आनी छोइङ ड्रोल्माले मानवसेवा आश्रमको सहयोगार्थ गत मे ५ मा पन्ध्र सय दर्शक सहभागितामा कन्सर्ट आयोजना भएको हो ।
मानवसेवा आश्रमको भवन निर्माण परियोजनालाई कोष जुटाउन आश्रमको बेलायत शाखाले गरेको उक्त लाइभ च्यारिटीबाट संकलन भएको कोष विवरण सार्वजनिक भने भएको छैन । कन्सर्टमा आनीले फूलको आंखामा, बुद्धम शरणम गच्छामी, आमा, ओम शान्ति ओम‘लगायत दर्जन आध्यात्मिक गीत प्रस्तुत गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मानव सेवा आश्रमको उद्देश्य निकै अनुकरणीय र प्रशंसनीय रहेको भन्दै संस्थाले गरिरहेको मानव सेवामा सबैलाई साथ दिन आग्रह गरे ।
औपचारिक सत्रमा मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले आफ्नो परोपकारी संस्थाले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी ९बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारिरीकरुपमा कमजोर र सडकआश्रित मानवमुक्त राष्ट्र बनाउने लक्ष्य राखी देशव्यापीरुपमा सेवा प्रवाह गर्दै आइरहेको बताए ।
मानव सेवा आश्रम बेलायत अध्यक्ष सुनिलबाबु खड्काले एक वर्ष अगाडि मात्रै यूके शाखा स्थापना गरि केन्द्रको अभियानमा सहयोगी बनेको भन्दै सहयोगको अपिल गरेका थिए ।