लण्डन । ए-स्टार नेपलिज बास्केटबल लिगको यसवर्षको उपाधि डीबीएस हेज एण्ड हार्लिङटनले हात पारेको छ ।
ग्रीनफोर्ड नाइट्सलाई हराउँदै डीबीएस हेज च्याम्पियन बनेको हो । डीबीएसले गतवर्ष पनि उपाधि जितेको थियो ।यही जुन २२ तारिखका दिन ब्रुनेल युनिभर्सिटी स्पोर्ट्स सेन्टर लण्डनमा दुई टीमबीच फाइनल खेल भएको थियो ।
सो अवसरमा नेपाली बास्केटबल टीमका पूर्व खेलाडीहरू मनोज शेरचन, आयुष सिंह, विनोद श्रेष्ठ, अमिर घले र निर्मल गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै ह्वीलचेयर बास्केटबल खेलाडी दिपेश विश्वकर्मालाई पनि स्वागत गरिएको थियो । विश्वकर्मा बेलायतमा बसोबास गर्न थालेका छन् ।
कार्यक्रममा नेपाली दुताबास बेलायतका द्वीतीय सचिव रामबाबु नेपाल, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर, काउन्सिलरहरू लक्ष्य गुरुङ र विष्णु गुरुङ, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, मगर संघ युकेकी अध्यक्ष श्रीमती सीता पुन, १३ वटा हिमाल आरोहण गरिसकेका तेजन गुरुङ, फर्कीफर्की चलचित्रका अभिनेता आशिक गुरुङ, हिरोपन्थी चलचित्रका अभिनेता प्रदीप गुरुङ लगायत अतिथिका रूपमा रहेका थिए ।
समापन कार्यक्रम नेपलिज बास्केटबल एसोसिएन युकेका अध्यक्ष रूपक गुरुङको अध्यक्षतामा र सृजना गुरुङको सन्चालनमा भएको थियो ।विजेता टोलीले रनिङ शिल्ड र खेलाडीहरूले ट्रफी पाएका थिए ।
बेलायतको नेपाली समुदायमा बिगत तीन वर्षदेखि यो प्रतियोगिता हुँदै आएको छ ।