काठमाण्डौं / सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उक्त फैसला गरेको हो।
सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । आइतबार सर्वोच्चले जोशीको भ्रष्टाचारमा अन्तिम फैसला सुनाएको हो।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त को इजलासले २०६९ साउन १० गते गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित उनलाई विगो र त्यही बराबर २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उनी नेपाली कांग्रेसका पुराना नेता हुन्।