लण्डन/ बलिउड अभिनेत्री मनीषा कोइरालाले हालै बेलायतको प्रतिष्ठित युनिभर्सिटी अफ ब्राडफोर्डबाट मानार्थ डाक्टरेट उपाधि प्राप्त गरेकी छिन्। उनले जीवन संघर्ष, अनुभव र समाजसेवामार्फत हासिल गरेको योगदानको कदर स्वरूप उक्त सम्मान पाएकी हुन्।
मनीषाले यो खुसीको खबर इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै लेखेकी छिन्, “आज मैले युनिभर्सिटी अफ ब्राडफोर्डबाट मानार्थ डाक्टरेट प्राप्त गरेँ। म यहाँ परम्परागत शिक्षाबाट होइन, तर जीवनका अनुभव, कडा परिश्रम, असफलता, लचिलोपन र सेवाबाट सिकेर आएको एक विद्यार्थीको रूपमा उभिएको छु।”
नेपालमै जन्मिएकी र हुर्किएकी मनीषा कोइरालाले जीवनका विभिन्न उतारचढाव पार गर्दै बलिउडमा मात्र होइन, सामाजिक कार्य, क्यान्सरसँगको लडाइँ र प्रेरणादायी व्यक्तित्वका रूपमा समेत आफूलाई स्थापित गरेकी छन्।
उनले युनिभर्सिटीप्रति आभार व्यक्त गर्दै भनिन्, “यो सम्मान शब्दले बयान गर्न गाह्रो हुन्छ। यो प्रमाण हो—तपाईंको यात्रा जहाँबाट सुरु भए पनि त्यो अर्थपूर्ण हुन सक्छ। युनिभर्सिटी अफ ब्राडफोर्डलाई मेरो कथा देखेकोमा धन्यवाद। बढ्दै जानुहोस्, चम्कदै रहनुहोस्…”
मनीषा कोइरालालाई पछिल्लो पटक सञ्जय लीला भन्सालीको नेटफ्लिक्स शृङ्खला “हीरामण्डी: द डायमण्ड बजार” मा देखिएको थियो, जहाँ उनले मल्लिकाजानको भूमिकामा अत्यधिक प्रशंसा बटुलेकी थिइन्।