बेलायतमा पहिलोपटक आयोजना गरिएको श्रीमद्भागवत कथा समारोह मंगलबार साउथलस्थित विश्व हिन्दू मन्दिरमा सुरु भएको हो। धर्मदर्शन फाउन्डेशन नेपाल र स्थानीय भक्तजनको पहलमा सुरु भएको यो आध्यात्मिक महोत्सवको दोस्रो दिन बुधबार, अपेक्षित ५० जनाको सट्टा १५० भन्दा बढी भक्तजनको उपस्थिति रह्यो।

लिस्टर, पिटरबरो, कोभेन्ट्री, रेडिङ, अल्डरशटलगायत शहरबाट आएका भक्तजनका लागि भोजन व्यवस्था विभिन्न दानी परिवारले गरेका थिए। सडक निर्माणका कारण ट्राफिक जाम हुन सक्ने भएकाले आयोजकले समयमै प्रस्थान गर्न आग्रह गरेका छन्।
पण्डित कुवेर सुवेदीको प्रवचनमा भागवत महापुराणका १२ स्कन्धअन्तर्गत पाण्डवपश्चात युगदेखि कलियुगका लक्षण र परीक्षित मोक्षसम्मका प्रसङ्ग प्रस्तुत गरिँदैछ। १८ अगस्टसम्म चल्ने यो कथा सप्ताहले भक्तिलाई स्थिर बनाउँदै जीवनलाई मोक्षको बाटोतर्फ डोर्याउने सन्देश दिएको आयोजकले बताएका छन्।
