लण्डन / ‘‘बेलायतमा इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ सकेर नेपाल फर्किएकी आनी छोइङ डोल्माले मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख रकम जुटाएकी छिन्।
सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आएकी वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्माले गत वैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लवको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थान आयोजना भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट मानवसेवा आश्रमको सेवा सहजताका लागि सो सहयोग जुटेको गायिका आनी छोइङ डोल्माले बताएकी छन् ।
सङ्कलित रकममध्ये रु ५२ लाख टिकट विक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रुपैयां आनी छोइङ ड्रोल्माको अटोवायोग्राफी पुस्तक फूलको आँखामा विक्रीबाट संकलन भएको छ । यस क्रममा पाँच जनाले मानवसेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवननिर्माणको लागि एक कोठा निर्माण सहयोग स्वरुप रु पाँच लाख ११ हजार एक सय ११ र ३२ जनाले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरी मानवसेवा आश्रमको अक्षयकोष वृद्धिका लागि रु एक लाख ११ हजार एक सय ११ योगदान गरेका छन् ।
मासिक रु आठ हजार योगदान गर्ने गरी १७ जना बालबालिकाको र मासिक पाँच हजार योगदान गर्ने गरी पाँच आमाबुबाको मासिक खर्च व्यहोर्ने भएका छन् ।
कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्को र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रीलङ्काको दूतावासमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम भएको थियो ।
प्रसिद्ध गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानवसेवा आश्रमको सेवा प्रवाहमा टेवा पुरयाउने मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिलबाबु खड्काले बताए ।
खर्च कटाएरै मानवसेवा आश्रमको सेवाको लागि यस कार्यक्रमबाट १ करोड ५० लाख रुपैया नेपाल पठाइने मानवसेवा आश्रम बेलायत च्यापटरका कोषाध्यक्ष चन्द्र अर्यालले जनाए।