मिचेट । यही मे २६ तारिखमा हुने २२औं ‘गोर्खा कप’को तयारी पूरा भएको आयोजक तमुधिँ युकेले जनाएको छ ।
तमु नेप्लिज कम्यूनिटी सेन्टर मिचिटमा शनिवार आयोजिन पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले ‘ क्विन्स एभ्न्यू, अल्डरसट ग्यारिजन स्पोर्टस सेन्टरमा हुने जानकारी दिएका हुन् ।
गोर्खा कपको तयारी पूरा भएको र केही नयाँपन थपिने भन्दै सबै जनालाई क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा उपस्थितिका लागि अध्यक्ष हरि गुरुङले अपिल गरे ।
गोर्खा कपको उद्देश्य, आकर्षण, जिम्मेवारी, कार्य समूहको नियुक्ति, कार्ययोजना, समय रेखा, पुरस्कार, प्रायोजक, साइट लेआउट, खर्च, घटना सुरक्षा योजना, विविध बिन्दुहरुका बारे पावरपोइन्टको माध्यमबाट क्या. दिपक घलेले प्रष्ट पारेका थिए ।
पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक क्याप्टेन दिपक घलेले यसपटक ५० वटा टीमबीच प्रतिस्पर्धा हुने जानकारी दिए । सो खेलको लागि मुख्य ३२, १६ भेट्रान र महिला २ वटा टीम दर्ता भएका छन् । ८ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।
यूकेको सबैभन्दा ठूलो यो प्रतियोगिता हेर्न बेलायतका विभिन्न शहरबाट नेपालीहरुको उपस्थिति हुने गर्दछन् । पहिलो पुरस्कार रिया मनी टान्सफरबाट तीन हजार पाउन्ड प्राप्त गर्नेछन् ।
बेलायती नेपाली डायस्पोराको सबैभन्दा वृहत इभेन्ट गोर्खा कपमा तमु धीं युकेले नेपाली युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नौमतिबाजा, प्यारासुट प्रदर्शन, नेपाली कला, संस्कृति, खाना,भेषभूषाको समेत प्रवर्धन गर्ने गर्दै आएको छ ।
हाल सम्म १५० वटा स्टलहरु बुकिङ भएको आयोजकले जनाएका छन् । गोर्खा कपमा खाना तथा हस्तकलाका स्टल, प्यारा डिस्प्ले, राफल ड्र, सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुने गरेका थिए ।
संस्थाका महासचिव विशाल गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा बेलायतमा कार्यरत पत्रकारहरुको अलाभा तमुधिं यूकेका पूर्वअध्यक्षहरु मीन गुरुङ, सूर्जे रामचन्द गुरुङ, ज्ञाम गुरुङ, नन्दजङ गुरुङ, हितकाजी गुरुङलगायतको उपस्थिति थियो।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्य जुमकाजी गुरुङले गरेका थिए भने मिडिया सेक्रेटरी सविन्द्रकुमार (एसके) गुरुङले पत्रकारहरुको परिचय र प्रश्नोत्तर कार्यक्रम संचालन गरेका थिए ।