लन्डन । बुद्ध फाउण्डेशन यूकेले यस बर्ष २५६८ औं बुद्ध जयन्ती कार्यक्रम लण्डनको वुलवीचमा गर्ने भएको छ ।
फाउण्डेशनले विगतमा सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा हुंदै आएको बुद्ध जयन्ती कार्यक्रमको छैटौं संस्करण भने २ जुनमा वुल्लीचको जनरल गोर्डन स्क्वायरमा गर्न लागेको हो।
आइतबार वुलवीचको लिटटल काठमाडौं रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरि भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाल पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठले बताए । उनले कार्यक्रम दिउसो २ देखि सांझ ७ बजेसम्म हुने जानकारी दिए ।
कार्यक्रम संयोजक प्रशुना कंडेलका अनुसार कार्यक्रमको मुख्य आकर्षण नेपाल झल्कने सांस्कृतिक प्रस्तुति रहनेछ ।उनका अनुसार बालबालिकालाई बुद्ध दर्शन सम्बन्धि जानकारी दिन पुस्तक र नेपाल सम्बन्धि पोष्टर समेत प्रदर्शन गरिनेछ ।
कार्यक्रममा बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्यले बुद्धको जन्मदेखि मृत्युसम्मका विवरण समावेश गरि उक्त क्यानभासको प्रदर्शन हुनेछ ।साथै कार्यक्रममा हस्तकला सामग्री पनि प्रस्तुत हुनेछ ।
संयोजक कंडेलले विगतमा ट्राफल स्क्वायरमा हुने भएपनि यसपटक त्यहां स्थान उपलव्ध नभएकाले र फरक ठाउंमा फरक प्रकृतिको कार्यक्रम गर्न स्थान परिवर्तन गरिएको जनाइन् ।उनले कार्यक्रम खर्च करिब ८ हजार पाउण्ड रहेको जनाउंदै प्रायोजकहरुबाट आर्थिक श्रोत जुटाइएको जनाए ।
रोयल बरो अफ ग्रीनवीचका उपमेयर जीत रानाभाटले आफ्नो बरोमा हुन लागेको बुद्ध जयन्ती कार्यक्रम सफल स्थानीय साधर र श्रोत परिचालन गर्ने बताए ।
फाउण्डेशनका उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेका थिए ।