लण्डन / सर्वोच्च अदालतको पछिल्लो आदेश संगै गैह्र आवासीय अभियन्ताहरुको सकृयता बढेको छ । सर्वोच्च अदालतबाट मिति २०८१–०४–२२ मा रिट नं. ०८०र ११५७ मा भएको आदेश पछि वर्तमान समिति सकृय भएको हो ।
यसैवीच गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी लण्डन आइपुगेका छन्।
डा. केसी शनिबार दिउँसो लण्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका हुन्।उनलाई गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष हितकाजी गुरुङ, संघका केन्द्रीय उपाध्यक्षहरु डा. हेम राज शर्मा, रामशरण सिमखडा, रोजिना प्रधान राई, युरोप उपसंयोजक , रोबर्ट लिम्बु लगायतले हिथ्रो विमानस्थल पुगी स्वागत गरे ।
डा. केसीले गैरआवासीय नेपाली संघको स्थापनामा बेलायतको महत्वपूर्ण भूमिका रहेको बताउँदै, एक साता बेलायतमा रहँदा धेरै भन्दा धेरै गैरआवासीय नेपालीहरुलाई भेटघाट गर्ने बताएका छन्।
डा.केसी २६ अगष्ट सोमबार एनआरएनए यूकेले अल्डरशटमा आयोजना गर्ने सार्वजनिक सुनुवाईमा सहभागी हुनेछन्।
साथै उनी नेपालब्रिटेन डट कमको सेप्टेम्बर १ तारिख लण्डनमा आयोजना हुने १७ औं वार्षिकोत्सव समारोह समेत सहभागि हुने नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले जनाएका छन्।