लन्डन । तमुधिं यूकेले आइतबार केम्पटन पार्क रेस कोर्समा आयोजना गरेको मेला सम्पन्न भएको छ । आयोजक संस्थाले आंकलन गरे अनुसार नै १५ औं नेपाली मेलामा मेलामा करिब सात हजार भन्दा बढी सहभागी भए । मेलामा बेलायतका ४० नेपाली संघसंस्थाले विभिन्न मौलिक झांकी र नृत्यले प्रस्तुत गरेका थिए ।
मेलामा नेपालका विभिन्न जातजाती, भूगोल, धर्म प्रतिनिधित्व गर्दै विभिन्न संघसंस्थाले झांकी प्रस्तुत गरे भने सिली साकेला, लाखे, ट्होंटे, सालैजो जस्ता १८ वटा विभिन्न नाच देखाइयो ।
गायन, नृत्य, राफल ड्र, विभिन्न च्यारिटी र खाना स्टलमा सहभागीहरुको घुईंचो देखिन्थ्यो । मेलामा अन्य आर्कषणमा कलाकारहरु राजन गुरुङ, शिवदास गुरुङ, नेसन पुन, आरुषी मगर लगायतले आ–आफ्नो प्रस्तुति दिए ।
मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूकेले एम्बासडर तथा एनआरएनए कप जित हांसिल गरे । किरात याक्थुङ चुम्लुङ यूके फष्ट रनर अप भयो भने सेकेन्ड रनर अप र सान्त्वना पुरस्कार क्रमशः किरात राई यायोख्या यूके र शेर्पा एसोसिएसन यूकेले प्राप्त गरे । प्रेसिडेन्ट च्वाइस अवार्ड किरात राई यायोख्या यूकेले प्राप्त गर्यो ।
उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने पासा पुचलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरेको थियो ।
कार्यक्रममा कार्यवहाक राजदूत रोशन खनाल, एनआरएनए अध्यक्ष डा. बद्री केसी, तमुधिं यूके अध्यक्ष हरि गुरुङ लगायतले सम्बोधन गरे ।
तमुधिं यूके ट्रष्टी साहित्यकार एकेन्द्र गुरुङको प्रमुख संयोजकत्वमा झाँकीको निर्णायक मण्डलमा मगर संघ यूकेकी ट्रष्टी तथा पत्रकार जमुना पुन, समाजसेवी तथा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङ, गीतकार शशी थापा सुब्बा र वरिष्ठ संगीतकार दिनेश सुब्बा थिए भने नृत्यतर्फको निर्णायक मण्डलमा कलाकार कविता घर्तीमगर, लक्ष्मी गुरुङ र अस्मिता रानामगर थिए ।
महासचिव डा। विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिए । अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र कार्यक्रम संयोजक तथा उपाध्यक्ष परशु गुरुङले दीप प्रज्वलन गरेर मेला शुरु गरेका थिए ।