लेस्टर, बेलायत – प्रवासी नेपालीहरुको साझा संगठन ओएनएफ यूके (प्रवासी नेपाली मञ्च) को नवौं राष्ट्रिय अधिवेशन बेलायतको लेस्टरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेल र बेलायतस्थित नेपाली राजदूत चन्द्र घिमिरेले संयुक्त रूपमा गरे।
अधिवेशनमा विशेष जोड प्रवासी नेपालीहरुको हक, अधिकार र मातृभूमिप्रतिको दायित्वमा दिइएको थियो। महासचिव पोखरेलले प्रवासी नेपालीहरुले संविधानले प्रदान गरेको गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको अधिकार अब चाँडै व्यवहारिक रूपमा सुनिश्चित हुने बताए। उनले नीतिगत रूपमा निर्णय भइसकेको र अब कानुनी प्रक्रियामा अगाडि बढिरहेको प्रष्ट पारे।
महासचिव पोखरेलले प्रवासी नेपालीहरूप्रति सम्मान व्यक्त गर्दै भने, “विदेशमा जसरी यहाँहरू परिश्रम गरिरहनु भएको छ, यदि त्यो उर्जा मातृभूमिमा प्रयोग भयो भने नेपालले तीव्र गतीमा प्रगति गर्छ।” उनले प्रवासी नेपालीहरुलाई आफ्नो स्थानबाट नेपालप्रति निरन्तर सानो ठुलो योगदान गर्दै जान आग्रह गरे।
यात्रुवाहक नेपाली जहाजलाई यूरोप उडानमा रोक लगाइएका विषयमा समेत पोखरेलले बोले। उनले त्यो प्रतिबन्ध न्यायसंगत नभएको भन्दै प्रवासी नेपालीहरुले आवाज उठाउनुपर्ने बताए। साथै, प्रवासी नेपालीहरुले पर्यटन, ऊर्जा र कृषि क्षेत्रमार्फत नेपालमा लगानी बढाउन सक्ने उनको विश्वास थियो।
राजदूत चन्द्र घिमिरेले बेलायतमा नेपाली समुदायलाई एकताबद्ध बनाउँदै ब्रिटिश समाजसँगको सम्बन्ध सुदृढ बनाउन आफू लागिपरेको बताए। उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सपना पुरा गर्न प्रवासी नेपालीहरुको भूमिका अझ महत्वपूर्ण रहेको बताए।
ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले गैरआवासीय नेपालीहरुको विवाद प्रवासी समाजभित्र मिलेर समाधान गर्नुपर्नेमा जोड दिए। उनले न्यायालय र राजनीतिक पार्टीको ढोका ढकढकाउने भन्दा प्रवासी नेपालीहरुबीच संवादबाट समस्या समाधान खोज्नुपर्ने बताए।
ओएनएफ यूकेकी इन्चार्ज सरस्वती केसीले प्रवासी नेपालीहरु नेपाललाई समृद्ध बनाउने अभियानमा विदेशबाट निरन्तर सहयोग गरिरहेको बताइन्। एनआरएनएका दोस्रो पुस्ताले पनि नागरिकताको हक पाउनुपर्ने माग कार्यक्रममा बारम्बार उठाइयो। सिर्जनशील समाजका अध्यक्ष पुण्डरी अर्याल र एनआरएनए आइसीसी उपाध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको व्यवहारिक कार्यान्वयनको माग गरे।
जनसम्पर्क समिति बेलायतका अध्यक्ष युबराज सिंहले अधिवेशनलाई बधाई दिँदै भ्रस्टाचार विरुद्ध महासचिव पोखरेलको भूमिकामा आशा व्यक्त गरे। जनप्रगतिशील मञ्च यूकेको तर्फबाट नेता रण केसीले सबैलाई धन्यवाद दिंदै प्रवासी नेपालीहरुको जागरुकताले नेपालको राजनीति र समाजमा सकारात्मक प्रभाव पार्ने बताए।
कार्यक्रममा स्कटल्यान्ड, वेल्स, नर्दन आयरल्याण्डलगायत बेलायतभरिबाट आएका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो। अधिवेशनमा नेपालबाट आएका पोलिटब्यूरो सदस्य सुजिता शाक्य, ओएनएफ अन्तर्राष्ट्रिय सचिवालय सदस्य प्रभु थापा, युरोप संयोजक सन्तोष भट्टराई लगायतका व्यक्तित्वहरु पनि सहभागी थिए।
कार्यक्रमलाई उपाध्यक्ष कृष्ण भण्डारीले स्वागत गरेका थिए भने डा. मुकुन्द बास्तोलाले एमाले एकताबद्ध छ भन्ने सन्देश पुनः दोहोर्याए। अधिवेशनका अध्यक्ष तुंगभद्र भुसालले सबैलाई धन्यवाद दिँदै अधिवेशन सफल पारिदिएकोमा आभार व्यक्त गरे।
अधिवेशनको बिचमा नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। नयाँ नेतृत्व चयनका लागि आइतबार साँझ मतदान सम्पन्न हुने कार्यक्रम रहेको छ।