२०१९ मा, चर्चित नेपाली र्यापर समीर घिसिङ (Vten) को गिरफ्तारीले अन्तर्राष्ट्रिय समाचारमा पनि स्थान पायो। मेट्रोपोलिटन क्राइम डिभिजनले उनलाई नियन्त्रणमा लिँदै प्रहरी हिरासतमा सात दिन राखेको थियो। आरोप थियो कि उनले आफ्नो चर्चित गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा “अश्लील र अपमानजनक” भाषा प्रयोग गरेका थिए। पक्राउपछि, प्रहरी वरिष्ठ अधीक्षक (एसएसपी) सहकुल बहादुर थापाले स्थानीय सञ्चारमाध्यमलाई बताए कि Vten को गीतहरू नेपाली समाजका लागि अत्यधिक अभद्र छन्। “अश्लील भाषा प्रयोग गरेको, गाँजा जस्ता अवैध लागूऔषधको प्रवर्द्धन गरेको, र समाजमा गलत सन्देश फैलाएको कारण उनलाई पक्राउ गरिएको हो,” थापाले भने।
Vten को गिरफ्तारीले नेपाली प्रवासी समुदाय मात्र नभई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि ठूलो चर्चा पायो। नेपाली युवाहरूबीच अत्यधिक लोकप्रिय उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ २०१९ सम्म १.९ करोड पटक हेरिएको थियो, तर गिरफ्तारीकै दिन उक्त गीत स्ट्रिमिङ प्लेटफर्महरूबाट हटाइयो। गीतमा उनले लागूऔषध, यौन, पार्टी, र बिद्रोही भावनाको चर्चा गरेका थिए। विशेष गरी, उनले प्रहरीलाई अपमानजनक शब्द प्रयोग गर्दै ‘Danthe हरुलाई f***-sign’ भनेका थिए, जसको अर्थ “प्रहरीलाई अपमान गर्ने संकेत” भन्ने हुन्छ। ‘Danthe’ भनेको प्रहरीको लागि अपमानजनक शब्द मानिन्छ। नेपाल कम्युनिस्ट पार्टीले २०१८ मा सरकारको बागडोर सम्हालेपछि, कलाकार र हास्यकलाकारहरूको गिरफ्तारी बढ्दै गएको थियो। यसले अभिव्यक्ति स्वतन्त्रताको गिरावट देखाएको स्पष्ट संकेत दियो।
प्रहरीले अझै स्पष्ट पारे कि यदि कसैले कुनै गीतमा अपमानजनक शब्द प्रयोग गरेको उजुरी गरेमा, प्रहरीले कारबाही गर्न ढिला नगर्नेछ। विश्वभरि हिप-हप संगीत लागूऔषध, राजनीति, यौन जस्ता विषयवस्तुहरू समेटेर आउँछ। तर नेपालमा हिप-हप नयाँ विधा भएकाले यस्ता विषयहरू अझै पनि विवादास्पद मानिन्छन्।
नेपालमा हिप-हपको उदय
नेपालमा पहिलो हिप-हप गीत ‘Meaningless Rap’ १९९२ मा १५ वर्षीय गिरिश खतिवडाले निकालेका थिए। उनलाई ‘नेपाली र्यापका गडफादर’ भनेर पनि चिनिन्छ। उक्त गीतको नाम ‘Meaningless Rap’ राख्नुको कारण उनले अमेरिकी र्याप गीतहरूको अंग्रेजी स्ल्याङ बुझ्न नसक्नु थियो। न्यूयोर्क सहरका अश्वेत समुदायबाट उत्पन्न भएको हिप-हप नेपालमा ब्रिटिश सेनामा कार्यरत नेपाली गोर्खा सैनिकहरू र अमेरिकामा बस्ने केही नेपालीहरूले ल्याएका थिए। काठमाडौं पोस्टका अनुसार, खतिवडालाई हिप-हपसँग पहिलो पटक चिनजान गराउने व्यक्ति अमेरिकामा कार्यरत एक कुटनीतिक कर्मचारीका छोरा थिए। ४५ वर्षीय खतिवडाको पहिलो गीतको सफलतापछि उनी म्युजिक एल्बम निकाल्न अग्रसर भए। पछि उनी प्रणिल तिमल्सिनासँग मिलेर ‘गिरीश प्रणिल’ (GP) नामक जोडी बनाए।
२००० मा ‘Rappaz Union’ नामक जोडीले नेपालकै पहिलो हिप-हप एल्बम निकाले। यसरी, अमेरिकी हिप-हपको सुरुवातभन्दा करिब दुई दशकपछि मात्र नेपालमा हिप-हप औपचारिक रूपमा प्रवेश गर्यो।
नेपाली हिप-हपको लोकप्रियता
२०१० पछि नेपालमा हिप-हप विस्तारै लोकप्रिय हुन थाल्यो। ‘Raw Barz’ नामक नेपालको पहिलो र्याप ब्याटल लीग २०१० मा सुरुवात भयो। यो नेपालका दिवंगत चर्चित र्यापर यमबुद्ध (अनिल अधिकारी) ले स्थापना गरेका थिए। उनलाई ‘नेपालको हिप-हप सम्राट’ भनेर पनि चिनिन्छ। उनले आफ्ना गीतहरूमा समाजका गम्भीर समस्याहरू उठान गरेर युवाहरूको ध्यान ताने। २०१७ मा उनको असमयिक निधन भएपछि नेपाली हिप-हप जगतमा ठूलो क्षति पुगेको थियो।
नेपाली हिप-हपको समस्याहरू
जसरी हरेक नयाँ उद्योगमा चुनौती हुन्छ, नेपाली हिप-हप पनि समस्याहरूबाट अछुतो छैन। Aasis Giri, जो नेपालकै पहिलो Billboard-charting निर्माता हुन्, भन्छन्, “नेपालमा पेशागत (प्रोफेशनल) सोचको कमी छ। अन्तर्राष्ट्रिय कलाकारहरूको आफ्नै व्यवस्थापन टोली, कन्क्ट्रयाक्ट प्रणाली, तथा सुरक्षाका लागि कानुनी उपायहरू छन्, जुन नेपालमा छैन।” Aasis Beats नामले परिचित गिरिले बेलायती र्यापर Central Cee को २०२४ हिट ट्रयाक ‘BAND4BAND’ को बिट उत्पादन गरेका थिए।
नेपालको संगीत उद्योग अझै व्यवस्थित भइसकेको छैन। बेल्जियममा बस्ने नेपाली र्यापर Amazumi (सुम्निमा सेत्लिङ) भन्छिन्, “नेपालमा संगीत उद्योगसँग सम्बन्धित धेरै जानकारीको अभाव छ। कलाकारहरूले उचित पारिश्रमिक पाउँदैनन्, आयोजकहरूले मूल्य बार्गेन गर्छन्, र रोयल्टी संकलन गर्ने कुनै प्रभावकारी प्रणाली छैन।” उनले २०१७ मा ‘Skathi Entertainment’ नामक रेकर्ड लेबल स्थापना गरेकी छन्, जसले कलाकारहरूलाई उचित व्यवस्था दिने प्रयास गरिरहेको छ।
नेपाली हिप-हपको भविष्य
अहिले नेपाली हिप-हप विस्तारै व्यापक रूपमा स्वीकार हुँदै गएको छ। Vten ले २०२४ जनवरी १ मा नयाँ गीत ‘Jyo Jyo’ रिलिज गरे, जुन उनको विवादित शैलीकै निरन्तरता हो। यो गीत एक सातामै एक मिलियन भन्दा बढी पटक हेरिएको छ। साथै, २०२२ मा पूर्व र्यापर बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर बनेपछि, समाजमा र्याप संगीतको धारणा केही सकारात्मक बन्दै गएको देखिन्छ।
२०२४ मा Skathi Records ले ‘GOD IS A WOMAN’ नामक नेपालकै पहिलो अखिल महिला हिप-हप फेस्टिवल आयोजना गर्यो। यसले नेपाली महिला र्यापरहरूलाई स्थापित गर्ने अवसर प्रदान गर्यो। नेपाली हिप-हप अझै आफ्नै मौलिक पहिचान बनाउन संघर्ष गरिरहेको छ। १९९० को दशकमा गिरिश & प्रणिलले ‘Lok-Hop’ नामक शैलीलाई लोकप्रिय बनाउन खोजे, तर नेपाली हिप-हप अझै अमेरिकी प्रभावमै छ।
तर, अहिलेको वृद्धिलाई हेर्दा लाग्छ कि निकट भविष्यमा नेपाली हिप-हपले आफ्नो मौलिक पहिचान बनाउन सक्नेछ। हिप-हप अब केवल अमेरिकी शैलीको नक्कल मात्र नभई नेपाली सांस्कृतिक पहिचान समेट्न सक्ने एउटा महत्वपूर्ण विधा बन्न सक्छ।
( लिफटेड एशियाको लागि सुम्निमा कन्दंग्व्वाबाट साभार )